१० माघ २०८१, बिहीबार

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

भारतबाट पशुपंक्षीको अवैध आयात तत्काल रोक्न सबै सरोकारवालाको माग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । भारतबाट पशुपंक्षीको अवैध आयातले वर्ड फ्लु लगायतको रोगको जोखिम बढेकोले सो अवैध आयात तत्काल रोक्न बाँकेका सरोकारवालाले माग गरेका छन् । अबैधरुपमा भारतबाट आयात गरिएका पशुपंक्षीमा वर्ड फ्लु लगायतका प्राणघातक रोग पनि आयात हुने भन्दै यसलाई नरोके अवस्था भयावह हुने चेतावनी समेत उनिहरुले दिएकाछन् ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जको आयोजनामा आयोजित सुरक्षा निकाय लगायत सरोकारवालासँगको अन्तक्रियामा सो माग गर्दै चेतावनी समेत दिईएको हो ।
जिल्लाका सुरक्षाकर्मी, नेपालगञ्ज भन्सार कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, माछा व्यवसायी, कुखुरा व्यवसायी लगायत सरोकारवालाहरु सहभागी रहेको सो कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय बाँकेका प्रमुख डा विनय कुमार कर्ण र पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा भक्त निउरेले सीमाक्षेत्रबाट पशुपंक्षि आयात निर्यातका विषयमा बनेका ऐन, कानून र तीनको कार्यान्वयनको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि अधिकांश मासु व्यवसायी र कुखुरापालक किसानले भारतबाट भैरहेको कुखुरा र चल्लाको अवैध आयातले एकातिर मानव जिवन खतरामा परेको तथा अर्कोतिर करोडौं करोडको किसान र व्यवसायीको लगानी जोखिममा परेको गुनासो गरेका थिए ।
सरोकारवालाहरुको कुरा सुनेपछि बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बर्डफ्लुले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले पशुपंक्षीको अवैध लाई रोक्न सरोकारवाला सबै सम्वेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले पशुपंक्षीको अवैध आयात नियन्त्रणमा सुरक्षा निकायसंगै, व्यवसायी, उपोभोक्ता लगायत सबै सरोकारवालाहरुले अहम भूमीका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।


सरकारले प्रतिवन्धित गरेका पशुपंक्षि सीमाक्षेत्रबाट अवैध रुपमा भित्रिदा विभिन्न संक्रामक रोगहरु फैलन सम्भावना रहेकोले यस क्षेत्रमा स्वास्थ्य सुरक्षा चुनौती बढ्ने भएकाले एक अर्कालाई आरोप लगाउने प्रवृतिको अन्त्य गर्दै सहकार्य गरेर अघि बढ्नुपर्नेमा प्रजिअ खत्रीको विशेष जोड थियो ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सीमानाकाबाट हुने पशुपंक्षि अबैध आयात नियन्त्रणका लागि प्रहरीले हरसंभव प्रयास गरिरहेको बताउनुभयो । सीमाक्षेत्रमा सुरक्षाकर्मीहरु नै अवैध आयातमा संलग्न हुने गरेको आरोप खेपिरहेको बताउँदै उहाँले यसप्रति निगरानी गरीरहेको र कुनैपनि सुरक्षाकर्मी संलग्न भेटिएमा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
यसअघि भारतमा वर्ड फ्लु देखिएपछि नेपालमा कुखुरा आयात प्रतिवन्ध गरिएको छ । तर, यतिबेला देशको राजधानी काठमाण्डौं, चितवनसहित पूर्वी क्षेत्रमा समेत वर्ड फ्लु देखिएकाले यसप्रति सरोकारवालाहरुले गम्भीर चिन्ता ब्यक्त गरेका छन् । उपोभोक्ताले पनि एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा किनबेच गर्दा कुखुरा उत्पादन भएको क्षेत्रको प्रमाण हेरेर मात्र किन्नुपर्नेमा कार्यक्रममा जनाईएको थियो ।
प्रमाण नभएका, अवैध आयात भएका कुखुरा बेचेको पाइएमा १० हजार रुपैयासम्म जरीवाना हुन सक्ने व्यवस्था रहेको पशु क्वारेन्टाइन कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *