महेन्द्र पुस्तकालयको अमृत महोत्सव भव्य रुपमा शुरु
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३ । नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले यहाँ शालिकको राजनिति गरेर केहीले जनतालाई विकास निर्माणबाट बन्चित गराउन खोजेको दावी गर्नुभएको छ ।
उहाँले भन्नुभयो–सालिकनै बनाउने हो भने नेपालगञ्जको शिक्षा र स्वास्थ्यका लागि सबैभन्दा बढी योगदान गर्ने स्वर्गिय मंगल प्रसाद, फत्तेजंग शाह र औतार देईको सालिक बनाएर लगाउनुपर्छ ।
महेन्द्र पुस्तकालय ७५ वर्ष पुगेर ७६ औं वर्षमा लागेको अवसरमा मनाईएको अमृत महोत्सवको शुक्रवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री राईले आफु पनि कसैको सालिकको विरोधी नभएको जनाउँदै तर सर्वदलीय सहमति गरेर मात्र लगाउनु पर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले सालिककै कुरा गर्ने हो भने जसले बाँके र नेपालगञ्जको समग्र विकासको लागि बढी काम गरेको छ, जसले गर्दा जनतालाई धेरै लाभ मिलेको छ उनको सालिक किन न बनाउने ? यहाँका जनताले विकास गर्ने र गफ चुट्नेलाई राम्ररी चिनि सकेको पनि मन्त्री राईले बताउनुभयो ।
उहाँले ७५ वर्ष लामो ईतिहास बोकेको पुस्तकालय जिर्ण अवस्थामा रहनुमा आफु लगायत जिल्लाका सबै जनप्रतिनिधि जिम्मेवार रहेको जनाउँदै उहाँले जिर्णोद्धारका लागि सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरले पुस्तकालयको लागि २ लाख रुपियाँ बजेट छुट्याएको जानकारी पाएको जनाउँदै उहाँले आफ्नो व्यक्तिगत तर्फबाट तीन लाख रुपियाँ सहयोग गर्ने घोषणा पनि सो अवसरमा गर्नुभयो ।
उहाँले मन्त्रालयबाट हुनसक्ने सहयोग पनि गर्ने जनाउँदै पुस्तकालयलाई समय सापेक्ष रुपमा परिमार्जित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो । यसअघि उहाँले पुस्तकालयको गेटमा पुगे लगत्तै अमृत महोत्सव लेखेको व्यानरमा बाँधिएका ७५ वटा बेलुन उडाउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले पुस्तकालयको मर्मत सम्भार र सञ्चालनका लागि प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभाका सांसदहरु आइपी खरेल र कृष्णा केसी नमुना, मधेशी राष्टिय आयोगका सदस्य विजय गुप्ता, संविधानसभाका सदस्य देवराज भार, खजुरा गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक तुफान बुद्धिजिवी तथा लेखक नरेन्द्रजंग पिटर, कथाकार प्राज्ञ सनत रेग्मी, साहित्यकार हरि तिमिल्सेना लगायतले पुस्तकालयको अवस्था र ईतिहासका बारेमा चर्चा गर्नु भएको थियो ।
सो अवसरमा पुस्तकालयको सम्वर्धन र संरक्षणका लागि शुरु देखिनै उल्लेखनीय काम गर्ने ७५ जनालाई मेडल, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।