समाचारदाता
नेपालगञ्ज, माघ १६ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले विषादी घटाउने बैकल्पिक मोडलहरुको पहिचान गर्न बजार सर्वेक्षण गराएको छ । सो सर्वेक्षण बारे सम्बन्धितलाई जानकारी दिन र सुझाव सल्लाह लिने उदेश्यले नेपालगञ्जमा सोमवार एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रम जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा वि ग्रुपद्धारा सञ्चालन गरिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको हो । सो सर्वेक्षण नेपालगञ्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकामा गरिएको थियो ।
बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बजार सर्वेक्षणका टीम लिडर शैलेन्द्र कुमार श्रेष्ठले सर्वेक्षण प्रतिवेदन विस्तृत रुपमा प्रस्तुत गर्नुभयो । सो प्रतिवेदनमा विषादीको प्रयोग, त्यसको अवस्था, एकिकृत किट व्यवस्थापन र विषादी घटाउन अपाइने बैकल्पिक मोडलहरुका बारेमा विस्तृत जानकारी गराईएको छ ।
उक्त प्रतिवेदन सुनेर कार्यक्रमका सहभागिहरुले त्यसलाई कार्यान्वयनका लागि आ आफ्नो सुझाव र सल्लाह दिनु भएको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्र नेपालगञ्जका निमित्त प्रमुख सकिल अहमद खानले विषादीको बारेमा उपभोक्तामा सचेतनाको निकै अभाव रहेको जनाउँदै जिल्लामा दुई वटा प्रयोगशाला भएपनि विषादी परिक्षण बारे धेरैलाई चासो नरहेको बताउनुभयो ।
उहाँले विषादी स्वास्थ्यका लागि निकै हानिकारक रहेकोले यो परियोजनाले किसान, उपभोक्ता र सरकारी निकाय सबैलाई सचेत पारेर विषादीको प्रयोग घटाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो ।
एमडिएम फ्रान्सका गणेश कार्कीले सर्वेक्षणलाई अध्ययन गरेर मात्र त्यसलाई अन्तिम रुप दिने जनाउँदै सर्वेबाट बाहिर आएका तथ्यका आधारमा कार्यक्रम सफल पार्न ठुलो सहयोग पुग्ने बताउनुभयो ।
यस्तै बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले विषादीको प्रयोग घटाएर मानव स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ यो सर्वे गराईएको जनाउँदै यसबाट कार्यक्रमलाई सफलतापुर्वक सञ्चालन गर्न ठुलो सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र नेपालगञ्जका प्रमुख राधेश्याम बढई, कृषि अनुसन्धान केन्द्र खजुराका रविन गिरि, नेपालगञ्ज २० का वडा अध्यक्ष कौशल धोबी, कृषि शाखा खजुराका प्रमुख पुनम पोखरेल, स्वास्थ्य शाखा खजुराका लक्ष्मी केसी, डुडुवा ६ का वडा अध्यक्ष मोहनराज मिश्र, विभिन्न वडा सदस्यहरु, आइडीई नेपालका प्रतिनिधि लगायतको सक्रिय सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरलगायत डुडुवा र खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य चौकीका प्रमुखहरु, कृषि शाखाका प्रमुखहरु तीनवटै पालिकाका जनप्रतिनिधि र सम्बन्धित अन्यको पनि सहभागिता रहेको थियो ।
सो परियोजनाले कृषकहरुको क्षमता विकास तथा सचेतना अभिबृद्धि गर्नुका साथै विषादी प्रयोग गर्दा हुने हानीबाट जोगाउन उनिहरुको पेशागत तथा स्वास्थ्य सुरक्षालाई प्रमुख उद्देश्य बनाएको छ । सो सर्वे प्रतिवेदनले विषादीको अवस्था प्रष्ट पारेकोले अब सोही आधारमा योजना बनाएर अगाडी बढ्न सहज हुने परियोजना संयोजक इन्द्रजीत सुनारले बताउनुभयो ।