१० माघ २०८१, बिहीबार

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

पेशागत स्वास्थ्य तथा सुरक्षासेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न

समाचारदता
नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले स्वास्थ्यकर्मीहरुका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा सेवा सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम नेपालगन्जमा सम्पन्न गरेको छ ।
संस्थाले एएफडी एवम् एमडिएम फ्रान्सको सहयोगमा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।
परियोजनामा संलग्न रहनु भएका नेपालगन्ज उपमहानगर, खजुरा र डुडुवा गाउँपालिकाका १५ सय किसान तथा ५ सय सरसफाईकर्मीको पेशागत जोखिम न्युनिकरण र स्वास्थ्य सुनिश्चितताका लागि परामर्श तथा जाँचहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुमा नियमित हुने गरेको छ ।


सोही सेवालाई थप प्रभावकारी बनाउन पुनर्ताजगी तालिम संचालन गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
सो तालिमको प्रमुख प्रशिक्षकमा एमडीएम फ्रान्सका मेडिकल कोअर्डिनेटर सन्ध्या सुवेदी रहनु भएको थियो भने अन्य प्रशिक्षकहरुमा कन्सल्टेन्ट फिजिसियन डा. शंकर केसी र स्वस्तिका बुढाथोकी रहनु भएको थियो ।
तालिममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को सहरी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर २० मनिकापुर स्वास्थ्य केन्द्र, सितापुर स्वास्थ्य चौकी खजुरा २ र डुडुवा गाउँपालिका ६ को हिरमिनिया स्वास्थ्य चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


तालिमको समापनमा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले किसान र सरसफाईकर्मीको पेशागत जोखिम न्युनिकरणका लागि बि ग्रुपले गरेका कामहरु सराहनीय रहेको बताउनुभयो ।
उहाँले किसान र सरसफाईकर्मीको स्वास्थ्य सुरक्षा सेवामा सम्बन्धित स्वास्थ्य संस्थाहरु गम्भीर हुनुपर्ने कुरामा पनि बिशेष जोड दिनुभयो ।
सो अवसरमा बोल्दै कन्सल्टेन्ट फिजिसियन डा. शंकर केसीले जोखिमपूर्ण पेशामा रहनु भएकाहरुको राम्रो स्वास्थ्यका लागि नियमित स्वास्थ्य परीक्षण हुनु पर्ने बताउनुभयो ।


एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापाले बिषादीको प्रयोगका कारण जोखिममा रहेका किसान र विभिन्न हानिकारक फोहोरका कारण जोखिममा रहेका सरसफाइकर्मीको स्वास्थ्य तथा सुरक्षामा यो परियोजनाले धेरे उल्लेखनीय काम गरेको बताउनुभयो ।
बि ग्रुपका सहसचिव कालिका बस्नेतले संस्थाले पिछिडिएका, उत्पिडित र चेतनाको अभाव भएकाहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै यो परियोजनाले निकै सराहनीय काम गरेको बताउनुभयो ।


सो अवसरमा तालिमका सहभागिहरुका तर्फबाट मनिकापुर स्वास्थ्य चौकीका प्रमुख प्रकाश श्रेष्ठ, सितापुर स्वास्थ्य चौकीका प्रेम बहादुर चन्द र हिरमिनिया स्वास्थ्य चौकीका गिता खड्काले किसान तथा सरसफाईकर्मीलाई स्वास्थ्य र सुरक्षा सेवा प्रदान गर्ने क्रममा देखिएका विभिन्न पक्ष बारे जानकारी गराउँदै यो तालिमले झन उत्साह थपेको बताउनुभयो ।
नेपालगन्जमा ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ सञ्चालन गरिएपछि उपमहानगरपालिकाको कार्यपालिकाले ‘पेशागत स्वास्थ्य सुरक्षा निर्देशिका २०८१’ पारित गरेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *