१६ चैत्र २०८०, शुक्रबार

आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

नेपालगञ्ज, मंसिर ७ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो ।
दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए ।
विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।
ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’
प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।
यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।
धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आकस्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु ।
पाइलट पेम्बा शेर्पाको ड्युटी सोमबार बिहान ५ः३० मा सुरु भएको थियो । उनको नियमित ड्युटी ४ बजेसम्म हो । उक्त समयमा नेपालगञ्जको आकाशमाथि पुगेको थियो । त्यसैबेला उनले ड्युटी सकिएको भन्दै जहाज त्यहीँको विमानस्थलमा ल्यान्ड गराए ।
‘कति छिट्टै सल्ले आइपुगिएछ भन्ने ठानेको त ड्युटी सकियो भनेर नेपालगञ्जमा झारिएको रहेछ,’ एक यात्रुले गुनासो गरे, ‘यो गैरजिम्मेवारीको पराकाष्ठा हो । यसैगरी, बिरामीको अपरेसन गरेका चिकित्सकले काम छाडे के होला ’
शेर्पा यती समूहबाट हालै नेपाल एयरलाइन्समा अनुबन्ध भएका पाइलट हुन् ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना पाइलटले ड्युटी सकिएको भन्दै सल्ले जानुपर्ने जहाज नेपालगञ्जमा सोमबार अवतरण गरेको स्वीकारे । उनी भन्छन्, ‘सल्ले जानुपर्ने विमान ड्युटी सकिएको भन्दै पाइलटले नेपालगञ्ज अवतरण गरेको साँचो हो । यसबारे बुझ्दै छु ।’
पाइलटले यात्रुलाई गन्तव्यमा नपुरयाएपछि उनीहरूलाई नेपालगञ्जकै होटलमा बस्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए ।
निगम स्रोतका अुनसार, पाइलटका सनकका कारण अलपत्र यात्रुलाई मंगलबार बिहान नेपालगञ्जबाट रुकुम पुरयाइएको छ । (नेपाल वाचबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
5
+1
1
+1
82
+1
1
+1
1
+1
16

Leave a Reply

Your email address will not be published. Required fields are marked *