१६ चैत्र २०८०, शुक्रबार

वर्षाले बाँकेका ६० इँटा उद्योगमा २० करोडको क्षति, व्यवसायी समस्यामा

वर्षाले बाँकेका ६० इँटा उद्योगमा २० करोडको क्षति, व्यवसायी समस्यामा

सिराज खान
नेपालगञ्ज, माघ २२ गते । केही दिनयता दुई पटक गरेर भएको बर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँ बरावरको क्षति व्यहोर्नु परेको छ । पकाउनका लागि तयार पारेर राखिएका ९० प्रतिशत्भन्दा बढी काँचो इँटाहरु बर्षाका कारण कामै नलाग्ने गरी नष्ट भएको व्यवसायीको भनाई छ ।
नेपाल इँटा उद्योग ब्यबसायी संघ बाँकेका सचिव सुर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा ईट्टा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट भएको बताउनुभयो । जसकाकारण करिब २० करोड रुपियाँको क्षति भएको उहाँले बताउनुभयो ।
एउटै व्यवसायीले पकाउन राखिएका ५ लाखदेखि १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको जनाउँदै अहिले इँटा पकाउने सिजन भएकाले भट्टामा बलेको आगो समेत निभिसकेकाले फेरि जलाउनु परेमा क्षति अझै बढेर जाने बताउनुभयो । व्यवसायीकाअनुसार खुला चौरमा भर्खरै तयार पारेर सुकाउन राखिएका अधिकांश इँटा र भट्टाभित्र आगोमा राखिएका इँटा समेत नष्ट भएका छन् ।
कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको नेपाल ईट्टा उद्योग व्यवसायी संघका पुर्व अध्यक्ष प्रकाश शाहले बताउनुभयो । बर्षाका कारण आफ्नो मात्रै करिब २५ लाख रुपियाँको इँटा गलेर नष्ट भएको उहाँले बताउनुभयो । सोही अवस्था जिल्लाभरीकै व्यवसायीको रहेको उहाँको भनाई छ ।
यो बर्षाले प्रत्येक इँटा व्यवसायीको ठूलो क्षती भएको जनाउँदै चाँद इँटा उद्योगका सञ्चालक चाँद खाँले यो क्षतिका कारण इँटा उत्पादन घट्ने र मूल्य बढ्ने बताउनुभयो । इँटा उत्पादकहरूले सिजनमा सात राउण्डसम्म इँटा उत्पादन गर्नेगरेका छन् । “एक पटकमा छ देखि दश लाखसम्म इँटा तयार पारिन्छ, तर यस पटक शुरुमै क्षति भएको छ” –नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेका सचिव पौडेलले भन्नुभयोे ।
इँटा व्यवसायीले बर्सेनी बर्षाको समयमा ठूलो नोक्सानी व्यहोर्नु पर्ने कारण विमा गर्न नपाउनु रहेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकले जनाएको छ । अहिले भएको क्षतिका कारण यस बर्ष पनि गएको बर्षझै बाँकेमा इँटा उत्पादन कम हुने संघले जनाएको छ ।( गोरखापत्र अनलाइनबाट साभार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *