६ बैशाख २०८१, बिहीबार

लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो

जे पाण्डे
नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागूपदार्थ कारोबारीले अह्राएको जोखिमयुक्त काम गर्न बाध्य हुने गरेका छन् ।
‘पक्राउ पर्ने महिलाले कारोबारीको पहिचान लुकाउनुको कारण पनि त्यही हो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘बच्चा धरौटीमा राख्दा आपूर्तिकर्ता सुरक्षित हुन्छन् । पक्राउ पर्ने महिलाले सन्तानको मायाले आपूर्तिकर्तालाई चिनेको भए पनि भन्न चाहँदैनन् ।’ कतिपय कारोबारीले भारतीय प्रहरीलाई सूचना दिएर आफैंले पठाएको भरिया पक्राउ गर्नसमेत लगाउने गरेका छन् । मिलेमतोमा यसो गर्दा भरियालाई सर्तबमोजिमको पैसा दिनु नपर्ने र लागूऔषध पनि थोरै लगानीमा भारतीय बजारसम्म पुर्‍याउन सकिने भएकाले नाइकेले दोहोरो जालझेल गरेको पनि पाइएको ती प्रहरी अधिकृतले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चरेस तथा अफिम बोकाएर सीमापार गर्न तयार हुनेमा रोल्पा, रुकुम, दाङ र जाजरकोटका महिला धेरै छन् । पक्राउ पर्नेमा २० देखि ६० वर्ष उमेर समूहका छन् । नेपालगन्ज कारागार शाखा प्रमुख रामकुमार सोनकरका अनुसार लागूऔषध मुद्दामा जेल परेका महिला थुप्रै छन् । धेरै भएपछि उनीहरूलाई राख्न ठाउँ नपुगेकाले ३० जना महिलालाई अन्य जिल्लामा पठाइएको छ । १ सय ५४ जना पुरुष नेपालगन्ज जेलमा छन् । जेलमा भएकामध्ये एक जनाबाहेक सबै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाका हुन् । रोल्पा कारागारका प्रमुख यमलाल ओलीले भरिया हुँदा पक्राउ परेकामध्ये पाँच जना महिला पुर्पक्षका लागि थुनामा रहेको बताए । ( कान्तिपुर अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *