१६ आश्विन २०७९, आईतवार

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

डेनमार्क, १२ कात्तिक । नेपाली भाषा र संस्कृति अब नेपालभित्र मात्र सीमित रहेन। शिक्षा र धन आर्जन एवं कामको खोजीमा अहिले विश्वका अनेक देशमा नेपाली पुगेका छन्।
यसरी विभिन्न देशमा पुगेका नेपालीबाट नेपाली भाषा, कला एवं संस्कृतिको संरक्षणस्वरूप अनेक काम हुँदै आउका छन्। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा पनि नेपालीको बाक्लो उपस्थिति छ।
सुरूसुरूमा विद्यार्थीका रूपमा यहाँ आएका कैयौं व्यक्ति अहिले यहीँ स्थायी बसोबास गर्ने अनुमतिका साथ उच्चस्तरको व्यवसायीका रूपमा स्थापित भइसकेका छन्।
उनीहरूकै सक्रियतामा अहिले नेपालीभाषीका सन्तानका लागि नेपाली भाषा पठनपाठन भइरहेको छ। यसका अतिरिक्त यहाँ बेलाबेला नेपाली कला र संस्कृतिसम्बन्धी केही काम पनि भइरहेको छ। यसै सिलसिलामा डेनमार्कमा पटक पटक पञ्चेबाजा पनि घन्किएको छ।
डेनमार्कको राजधानी कोपनहेगनवाट ४०० किलोमिटर उत्तर पश्चिममा रहेको न्युचोपिङ मुर्स आईल्याण्डमा नेपालीभाषी भुटानीमार्फत पञ्चेबाजा घन्किएको हो। यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सुखद आश्चर्यका रूपमा लिएका छन्।
संयुक्त राष्ट्र संघको शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत नेपालका शरणार्थी शिविरबाट सन् २००९ मा डेनमार्क पुगेका नेपालीभाषी भुटानीहरूलाई पञ्चेबाजा एकादेशको कथाजस्तै बनिसकेको थियो। ‘हामीले नै भुल्न लागेका थियौं, हाम्रा नातिनातिनाले त उही युट्यूवमा हेरे भने न थाहा पाउने हुन्,’ ६६ वर्षीय बृखबहादुर भण्डारीले भन्नुभयो।
नौमती बाजा घन्काएर छोराको बिहे गर्ने सपना थियो, पूर्ण कठेतको। कोपनहेगनमा पञ्चेबाजा बजाउने मानिसहरू पाइन्छन् भनेर कसैले उनलाई सुनाइदियो। नेपाली पञ्चेबाजाको संरक्षण, प्रवर्धन र सम्वर्धनको मूल उद्देश्य राखेर कोपनहेगनमा ‘नेपाली बाजा समूह, डेनमार्क’ नामको दर्ता भएकै कल्चरल संस्था छ भन्ने सुनेपछि उहाँले बडो उत्साहपूर्वक बाजा समूहसँग सल्लाह नै नगरी छोराको बिहेको भोजको निमन्त्रणा कार्डमा उल्लेख गरिदिनुभयो ‘नौमती बाजा सहितको कार्यक्रम’ भनेर।
‘मैले छोराको बिहेमा नौमती बाजा बज्छ भनेर कार्डमै छापिसकेको छु, तपाईँहरूलाई हुँदैन भन्ने विकल्प छैन,’ उहाँले पञ्चेबाजा समूहसँग सम्पर्क गरी वार्ताको प्रारम्भ नै यही वाक्यबाट गर्नुभयो।
‘एकछिन त छक्कै परेँ म उहाँको कुरा सुनेर। हामीसँग कुरा नै नगरी कार्डमा छाप्न उहाँको हामीप्रति कत्रो विश्वासरु कोपनहेगनमा आफ्नै काम र परिवारका लागि व्यस्त वाद्यवादकहरू त्यो दिन भ्याउँछन् भ्याउँदैनन्। त्यो पनि १००, ५० किलोमिटर सम्म भए पनि लु न त २–४ घण्टा गएर बाजा बजाएर आऊँ भन्नु, त्यति टाढा कसरी सम्भव होला ? के भन्नु के नभन्नु ? एक छिन त अक्क न वक्क परेँ। मैले समूहको मिटिङ राखेर खबर गरौँला भनेर फोन राखिदिएँ,’ सहनाईवादक सुरेश छन्त्यालले भन्नुभयो, ‘संस्थामा लामो छलफल गरेपछि यो निम्तालाई स्वीकार गर्ने निर्णय भयो। यस्तो महत्त्व दिएर कसैले बाजा बजोस् भन्ने चाहेको छ भने उनीहरूको मन मारिनु हुँदैन, जसरी पनि सम्भव बनाउनु पर्छ। यो यो हाम्रो पञ्चेबाजा समूहको धर्म हो। यसको छुट्टै सामाजिक महत्त्व र सन्देश पनि छ भन्ने निष्कर्ष पुगेपछि हामीले उक्त निमन्त्रणा स्वीकार गरेका हौँ’
नेपाली बाजा समूहका परिकल्पनाकार तथा वाद्यवादक यामलाल सुवेदीका अनुसार नौ जना वाद्यवादक र बाजागाजाका साथ बिहान पाँच बजे नै पञ्चेबाजाको टोली कोपनहेगनबाट निस्कियो। बिहान एघार बजेदेखि साँझ पाँच बजेसम्म बाजा बजिरह्यो। यो गीतमा बजाइदिनुस्, त्यो गीतमा बजाइदिनुहोस् भनेर फर्माइस आई नै रहे।
नेपालका प्रसिद्ध सहनाई वादक कसिन परिवारबाट प्रशिक्षित सुरेश छन्त्यालले आफ्नो कला देखाइ नै रहे। नेपाली बाजाका टोलीका नेतृत्वकर्ता यामलाल सुवेदी कहिले नाच्न पुग्थे त कहिले कर्नाल फुक्न। टोली सदस्य प्रभात किरण पनि त्यस्तै भ्याई नभ्याईको स्थितिमा थिए। सुरूमा नेपाली बाजाको चिनारी प्रभात किरणले गराए र त्यसलाई डेनिस भाषामा उल्था गरेर विक्रम तिवारीले सुनाए भनी वाद्यवादक जयलाल न्यौपानेले बताउनुभयो।
कतिपय नेपालीनै बाजाको आवाज चर्को भयो भनेर झिजो मान्छन् तर त्यहाँ उपस्थित भएका डेनिस निम्तालुहरू भने पञ्चेबाजाको धुनमा घण्टौं नाचिरहे, झुमीरहे अनि वाद्यवादकहरूको प्रशंसा गरिरहे। ‘म त सारै छक्कै परेँ, कति मन पराएका हुन् विदेशीले पनि,’ वाद्यवादक राम लामिछानेले भन्नुभया्े।
यसरी नेपालभित्रै लोप हुनलागेको पञ्चेबाजा उत्तरी युरोपमा फैलिँदै गएकामा त्यहाँका अन्य नेपालीहरूले पनि खुसी व्यक्त गरेका छन्।
(सेतोपाटीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.