१२ बैशाख २०८१, बुधबार

अधिकारीलाई ठक्कर दिने कारका नक्कली चालक प्रहरीमा पुगे, असली फरार

अधिकारीलाई ठक्कर दिने कारका नक्कली चालक प्रहरीमा पुगे, असली फरार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २३ कात्तिक । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेपनि सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले दिनु भएको जानकारी अनुसार अधिकारीलाई ठक्कर दिने कारका मालिक सरोज हमाल रहनु भएको र दुर्घटनाको समयमा उक्त कारलाई उहाँको छोरा अनिश हमालले चलाउनु भएको बुझिएको बताउनुभयो ।
तर, विजय ढुंगेल भन्ने एकजनाले आफुलाई सो कारको चालक बताउँदै प्रहरी कार्यालयमा आएको जनाउँदै डीएसपी खनालले ढुंगेल नक्कली चालक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले गाडी चलाउने हमालको खोजी भैरहेको पनि बताउनुभयो ।
अधिकारीलाई ठक्कर दिएर बेपत्ता भएको कारलाई १२ घण्टाको मिहिनेतपछि राप्तीसोनारी–२ मा फेला पारेर ईलाका प्रहरी कार्यालयमा बुझाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक ऐन मल्लले बताउनुभयो । सो दुर्घटनामा ३२ बर्षीय विनोद अधिकारीको मृत्यु भएको थियो ।
सो कार फेला परेपनि यसअघि त्रिभुवन चोक नजिकको सदरलाइनबाट एक बालिकालाई ठक्कर दिएर मारेर भाग्ने मोटरसाइकलको भने अझै कुनै पत्तो लागेको छैन । त्यसका लागि बालिकाका आफन्तले पटक पटक आन्दोलन गरेपनि अझै दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
बाँकेमा प्रत्येक बर्ष सवारी दुर्घटना बढ्दो रहेको पाईएको छ । पछिल्ला दिन दैनिक जसो साना, ठूला दुर्घटना भैरहेका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आर्थिक वर्षमा ४४० वटा दुर्घटना भएका छन् । जसमा २१० जनाले अकालमा ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
13

Leave a Reply

Your email address will not be published. Required fields are marked *