१६ आश्विन २०७९, आईतवार

एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

एमाले महाधिवेसन – ओलीको निर्विकल्प बन्ने सपना पुरा भएन

डा. प्रदीप भट्टराई

मुलुककै ठूलो ‘कम्युनिष्ट पार्टी’ नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवन डेटलाइनमा जारी छ । महाधिवेशनको निर्धारित समय घर्किसकेको छ, यद्यपि उद्घाटनलगायतका औपचारिक कर्मकाण्ड बाहेक यसको मूल काम नेतृत्व चयन हुन सकेको छैन।
वडातहबाटै  केपी ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन गरिएको सर्वसम्मति अभियानमा भीम रावलले चुनौति दिएपछि हलो अड्किएको छ। र, त्यो हटाउने क्रममा अनेकखाले प्रपञ्च मिलाउन समय खर्चिदा महाधिवेशन निर्धारित समयमा सकिएको छैन।
यो समसामयिक टिप्पणी तयार गरिरहेको बेला पार्टी अध्यक्ष ओलीले आफ्नो नाम अध्यक्ष पदमा राखेर १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नामावली प्रस्तुत गरेका छन्। उनले प्रस्तुत गरेको नामावलीमा अध्यक्षमा दाबी गरिरहेका भीम रावल र उपाध्यक्षमा दाबी गरिरहेका घनश्याम भूषालको नाम छैन । यसैगरी सचिवमा दावी गरिरहेका टंक कार्कीको मात्र नाम नभएको हैन कि यसअघि सचिव रहेका १० भाइमध्येका एक भीम आचार्यको नाम पनि छैन।
यस अतिरिक्त पदाधिकारीमा दाबी गरिरहेका अरू पनि थुप्रै दाबेदारहरूको नाम छैन। केन्द्रीय सदस्यमा दाबी गरिरहेकामध्ये प्रस्तावित सूचीमा नाम नपर्नेको संख्या त सयौ छ। यस्तो अवस्थामा पदाधिकारीमा मात्र हैन, केन्द्रीय सदस्यमा पनि चुनाव हुने सम्भावना बढेर गएको छ। सूचीमा नपरेका र फरक मत राख्नेहरूले सबै पदमा एक किसिमको संस्थागत विद्रोहका रूपमा उम्मेद्वारी दिन सक्नेछन्। त्यस्तो उम्मेद्वारी जित्नका लागि नभएर सांकेतिक विद्रोहका रूपमा हुन सक्नेछ । त्यसले फरक मतलाई संस्थागत रूप दिन भने यथेष्ट योगदान दिनेछ ।
अब चुनाव भए पनि ओलीले प्रस्तावित सूचीको पक्षमा एक किसिमको फर्मान नै जारी गरेकाले यो सूचीभन्दा बाहिरकाले चुनाव जित्न गाह्रो छ। अझ ओलीका आलोचकका लागि त लगभग असम्भव नै छ भन्दा पनि हुन्छ ।
ओली क्याम्पकै कसैले उम्मेद्वारी दिए भने सहमतिका नाममा सूचीमा परेका पूर्व माओवादीमध्ये कसैले चुनाव हार्न सक्छन्। जस्तो कि सचिवमा महेश बस्नेत वा गोकुल बाँस्कोटाले उम्मेद्वारी दिए भने टोपबहादुर रायमाझी र लेखराज भट्टलाई चुनाव जित्न सहज हुँदैन। तर, ओलीभक्तका रूपमा कहलिएका बस्नेत र बाँस्कोटाले ओलीको फर्मान उल्लंघन गर्ने साहस गर्लान् भन्ने आधार भेटिदैन।
अब यसै पनि एमालेमा चान्केचुन्के व्यक्तिगत उम्मेद्वारी र जितरहार गौण विषय भैसकेको छ। समग्र निर्वाचनलाई नै सर्वसम्मतिका नाममा जे जसरी प्रस्तुत गरियो, त्यसले एमालेको आन्तरिक लोकतन्त्रको तन्नम तस्विर प्रस्तुत गरेको छ । समग्रमा एमाले जताजता ओली विद्या त्यतै त्यतै स्वाहा भएको छ । यसबाट पार्टीको अल्पमत संरक्षित हैन, बढारिएको छ। समग्रमा एमालेमा आलोचनात्मक चेतलाई ठाउँ छैन भन्ने सन्देश दिइएको छ ।
राष्ट्रिय महाधिवेशनको नाममा अब ओली प्रचण्ड बहुमतका साथ चुनिएर आउनेछन्। उनको केन्द्रीय कार्यसमितिमा जबज हैन, स्टालिनवादी केन्द्रीयता लादिने छ। पार्टीमा फरक विचार राखेर बस्न सकिने अवस्था हुने छैन । योग्यताभन्दा पनि ओलीकृपा नेता कार्यकर्ताले पाउने अवसरको आधार हुने छ। यस्तो अवस्थामा एमालेमा संस्थापनभन्दा फरक मत राख्नेहरू आगामी चुनावसम्म पनि टिक्न गाह्रो हुन्छ । जो त्यतिबेलासम्म टिक्छन्, उनीहरू पनि टिकट नपाएपछि बाहिरिन्छन् ।
राष्ट्रिय राजनीतिमा भने ओली कब्जामा गएको एमाले क्रमशस् एक्लिने छ। महाधिवेशनलाई प्रतिष्ठायुद्धको विम्ब बनाएर इमोशनल ब्लाकमेलिङ गरेर चितवनमा उतारिएका मान्छेलाई देखाएर आर्जन गरिएको शक्ति यथार्थको आकारमा फर्कने छ । केन्द्रीय नेतृत्वमा आश गरेका र उनीहरूका कार्यकर्तामा आउने निराशाले पनि ठूलो फरक पार्नेछ ।
राष्ट्रिय महाधिवेशनको नाममा आयोजित यो जम्बोरीबाट आफैँ अध्यक्ष मण्डलको अध्यक्ष भएर आफैँलाई अध्यक्ष पदमा निर्वाचन गराउन प्रस्ताव गरेका ओली सामु केही प्रश्नहरू फालिम लाग्नेछन् । यक्ष प्रश्न त, यो उनको जित हो कि हार हो ? भन्ने नै हो । रूपमा उनी प्रचण्ड बहुमतले जिते पनि सारमा उनी हारेर नै काठमाडौं फर्कने छन् । उनले आफूलाई जसरी निर्विल्प सोचेका थिए, संसारमा त्यस्तो निर्विकल्प न थियो न हुने नै छ भन्ने पाठ उनले सिक्नुपर्ने हुन्छ ।
दोस्रो, ओली आफू पदका लागि के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसको परीक्षण भएको हुनेछ, त्यसले उनका फ्यानहरूमा थप क्रेज बढे पनि समग्रमा उनको व्यक्तित्वमा ठूलो ह्रास आएको हुने छ ।
तेस्रो, १० बुँदे सहमति गरेर जो विधि र विधानको कुरा गर्थे, तिनीहरूले ओलीभित्र रहेको वदलाको भावना नबुझेको ठहरिने छ । हो, ओलीको प्रशस्ति गाउँदै टाङमुनि छिरेकाले केही पद पाएका छन्, त्यसैका आधारमा मात्र न १० बुँदेको औचित्य पुष्टि हुन्छ, न ओली लोकतान्त्रिक भएकै ठहर्छ ।
यो महाधिवेशनपछि ‘भीमबहादुर’ र ‘घनश्यामहरू’ के गर्छन् ? यो अर्को अहम् प्रश्न हुनेछ । एमालेमा अब यी दुई नाम मात्र हैन, विधिका लागि लड्ने र आलोचनात्मक चेत भएका बचेखुचेका नेता कार्यकर्ताका विम्ब पनि भएका छन् । अब यिनीहरूले एमालेमा बसेर के गर्छन् भन्ने कुराले पनि केही अर्थ राख्छ । अब बचेखुचेका यिनीहरू एमाले भित्रै रहेर ओलीको दलाई खेप्छन् कि आफूजस्तै सबै मिलेर संगठित विद्रोह गर्छन् भन्ने पनि हो ।
ओलीका पछाडि एउटा स्टालिनवादी पंक्ति छ जसले अब फरक चेत भएका नेता कार्यकर्तालाई एमालेको नेतृत्वमा पुर्याउन दिँदैन। त्यसैले अब उनीहरू एमालेमा रहेर ओलीका लागि खोरिया फाड्नुभन्दा पनि माधव नेपालको एकीकृत समाजवादीमा गएर ओलीविरोधी जनमत तयार गर्नेतिर लाग्दा नै फाइदामा हुन्छन्। यसै पनि ‘भेडा भेडातिर, बाख्रा बाख्रातिर’ भन्ने त भनाइ नै छ ।
एमाले महाधिवेशनका गतिविधिहरूको विकासक्रम तीव्र रफ्तारमा रहेको यतिबेला योभन्दा बढी कुरा गर्नु समय सान्दर्भिक नहोला । अहिलेसम्मका लागि एउटै प्रश्न केन्द्रमा छ, त्यो के भने यो ओलीको हार हो वा जित ?
यो टिप्णीको विट मार्ने बेलासम्म यति भन्न सकिन्छ, ओली अध्यक्ष थिए, अध्यक्ष नै भए यस अर्थमा उनको पदीय निरन्तरता भयो, चुनावमा रावललाई जित्छन्, यस अर्थमा उनको जित पनि भन्न सकिएला । तर, एक राजनेताका रूपमा भने उनी हारेका छन् । कसरी ? त्यसको उत्तर महाधिवेशन सकिएपछिको समयले क्रमशस् दिदै जानेछ । ( अनलाइन खबरबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.