नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ५ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको उपस्थितिमा बुधवार प्रहरीको तालिम प्राप्त कुकुरसहितको बिशेष टोलीले नेपालगञ्जका केही संवेदनशिल स्थानहरुमा चेकजाँच गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले दिनु भएको जानकारी अनुसार प्रहरीको तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत जमुनाहा नाका र नेपालगञ्ज विमानस्थलमा एक्कासी चेक जाँच गरेको हो ।
डग हेन्डलरसहितको टोलीले एक्कासी नाका र विमानस्थलको चेक जाँच गरिनुलाई कुनै गैरकानुनी काम गर्नेको आवागमनको खबर प्रहरीले पाएको आशंका गरिएको छ । खुला नाका भएका कारण भारतबाट आउने र विमानबाट जाने वा विमानबाट आउने र भारततर्फ जानेमाथि विशेष निगरानी राख्ननै सो चेकजाँच गरिएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी प्रहरीले यसलाई कहिलेकाँही गरिने अकस्मात चेकिंग बताएको छ ।
भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, विमानस्थलका यात्रुलाई संयुक्त रुपमा चेकजाँच गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँके र तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत हाल कोहलपुरको संयुक्त टोलीले एसपी अधिकारीको उपस्थितिमा उक्त चेकजाँच गरेको थियो ।

