१५ चैत्र २०८०, बिहीबार

छाडा चौपायाले सडक अवरुद्ध पार्दा आवागमन गर्नेलाई सास्ती

छाडा चौपायाले सडक अवरुद्ध पार्दा आवागमन गर्नेलाई सास्ती

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । घोडा, खच्चर, गाई लगायतका छाडा चौपायाले नेपालगञ्जका विभिन्न सडक र चोकमा बस्ने र जम्मा हुने गर्दा आवागमन गर्नेलाई निकै सास्ती भोग्नु परेको छ ।
सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चर र गाईको समुहको बाक्लो उपस्थितिले सडक दुर्घटनाका चुनौती थपिनुका साथै आवागमन गर्नेलाई समस्या भैरहेको छ ।
सहरको मुख्य चोक त्रिभुवन चोकमा सबैभन्दा बढी छाडा घोडा र खच्चरहरु जम्मा हुने गर्दा आवागमनमा पटक पटक अवरोध समेत हुने गरेको स्थानीय सम्पन्न पाण्डेले बताउनुभयो ।
उहाँले घोडा खच्चर पाल्नेहरुले दिनभरी आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक पटक यस्ता समस्या आउने गरेकोमा उनिहरुलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।
घोडा, खच्चर र गाई जस्ता चौपाया पाल्नेहरुले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनिहरुको विगविगी भएर दिसा पिसाबबाट दुर्गन्ध र फोहर बढ्ने तथा दुर्घटना निम्तिने गरेको नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले यो समस्या समाधानका लागि धेरै पहिलेदखि प्रयास गर्दै आएपनि समाधान हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।
बजारका पसल र घरका अगाडी ती जनावरले दिसा गरेर फोहर गर्दा व्यवसायमा पनि प्रभाव परेको त्रिभुवन चोकका व्यवसायी इमरान जसगढले बताउनुभयो । उहाँले तत्काल यो समस्या समाधान गर्न उपमहानगरपालिकासंग आग्रह पनि गर्नुभयो ।
तर, हालसम्म पनि ती मागका बारेमा ध्यान नदिंदा अहिले पनि सडकैभरी जताततै पशुचौपायाको भीडभाड देखिदै आएको छ । छाडा चौपायाको व्यवस्थापनमा कसैले चासो लिएको देखिदैन ।
नेपालगञ्जमा छाडा चौपाया राख्नका लागि काञ्जीहाउस भएपनि यसको उचित प्रयोग हुन सकेको छैैन । छाडा पशु चौपाया व्यवस्थापनका लागि ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग पटक पटक गरिएपनि त्यसतर्फ समेत ध्यान नदिईएको स्थानीयको गुनासो छ ।
सो बारेमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापाले महानगरले निरन्तर यो समस्या समाधानका लागि काम गर्दै आएको जनाउँदै तर पाल्नेहरुको अटेरी र बेवास्ताले समस्या समाधान हुन नसकेको बताउनुभयो ।
उहाँले छाडा चौपायालाई कान्जीहाउसमा पुर्याउने काम पनि निरन्तर जारी रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *