८ बैशाख २०८१, शनिबार

छिटो छिटो कर्मचारी सरुवा हुँदा स्थानीय तहमा काम गर्न समस्या

छिटो छिटो कर्मचारी सरुवा हुँदा स्थानीय तहमा काम गर्न समस्या

गोविन्द शर्मा
नेपालगञ्ज, माघ २४ । स्थानीय तहमा छिटो कर्मचारी सरुवा हुँदा काममा असहजता भएको कर्मचारीको भनाइ छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा तीन महिना १५ दिन पहिले सरुवा भई आउनुभएका गुरुदत्त सुवेदीको श्रम मन्त्रालयमा सरुवा भई सोमबार नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा जगत बस्नेत हाजिर हुनुभएको छ ।
सुवेदीको कात्तिक ८ गते मात्र नेपालगञ्ज प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको थियो । सुवेदीभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीको पनि पाँच महिनामै नेपालगञ्जको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएको थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि नेपालगञ्ज उप–महानगरपालिकामा आठ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको छ । हरि प्याकुरेल र ओमबहादुर खड्काले मात्रै एक वर्ष काम गर्न पाउनुभएको छ ।
नेपालगञ्ज मात्र नभई बाँकेको दोस्रो ठूलो शहरको रुपमा रहेको कोहलपुर नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुने परम्परा बनेको छ । कोहलपुर नगरपालिका २०७१ सालमा गठन भएपछिका ८ वर्षमा १२ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको तथ्याङ्क छ ।
स्थानीय तहमा छिटो प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा कामकाजमा प्रत्यक्ष असर पर्नेगरेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले बताउनुभयो । एक जना प्रमुख प्रशासकीय अधिकृतले नेपालगञ्जको अवस्थाबारे बुझिनसक्दै अन्यत्र सरुवा हुन्छ, नगरप्रमुख राणाले भन्नुभयो “सङ्घीय सरकारले यसरी काम गर्दा स्थानीय तहलाई काम गर्न असहज हुने गरेको छ ।”
नगरप्रमुख राणाले स्थानीय तहलाई प्रमुख प्रशासकीय अधिकृत राख्न सक्ने अधिकार भएपछि मात्रै काम गर्न सहज हुने दावी गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाबाट सरुवा भई जानुभएका उपसचिव सुवेदीले सङ्घीय सरकारले कार्यसम्पादन सम्झौता गरेर निश्चित समयसम्मका लागि प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने सुझाव दिनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *