नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ७ । प्रजातन्त्र दिवसको अवसर पारेर नेपालगञ्जको त्रिभुवन चोकमा शनिवार स्वर्गिय राजा त्रिभुवनको शालिक स्थापना गरिएपछि जनता समाजवादी पार्टी नेपाल नेपालगञ्जले प्रहरी प्रशासनले सो शालिक नहटाए आफै हटाउने चेतावनी दिएको छ ।
जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज उपमहानगर समितिका अध्यक्ष श्रवण कुमार यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मधेश आन्दोलनमा सहादत प्राप्त गरेकाको नाममा सो चोकको नामाकरण मधेशी चोक गरिसकेको हुँदा त्यहाँ स्थापना गरिएको स्वर्गिय राजा त्रिभुवनको शालिक स्विकार नहुने उल्लेख गर्नुभएको छ ।
उहाँले प्रतिगमनकारीहरुले सो शालिक स्थापना गरेर मधेशी सहीदको अपमान गरेको जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी पाएको सम्बन्धित पक्षले सो शालिक हटाएनन् भने संघियताबादी, गणतन्त्रबादी, धर्मनिर्पेक्षताबादी आम नेपालगंजबासीहरुको नेतृत्वमा जसपा बांकेले आफै हटाउन सक्षम रहेको उल्लेख गर्नु भएको छ ।
जसपा नेपालगञ्जका अध्यक्ष यादवले २०६२ र ०६३ को महान जन आन्दोलनले आर्यघाटमा बिशर्जन गरेको निरुकुश राजतन्त्र र तिनका शालिकलाई केही निरुकुशबादी, प्रतिगमनकारीहरुले पुनर्जीवन गर्न खोज्नु दिवा सपना मात्र भएको पनि सामाजिक सञ्जाल मार्फत बताउनु भएको छ ।

