१२ बैशाख २०८१, बुधबार

निर्मला कुर्मीलाई बेपत्ता पारेर करोडौंको जग्गा हड्पेको आरोपमा ६ जना पक्राउ

निर्मला कुर्मीलाई बेपत्ता पारेर करोडौंको जग्गा हड्पेको आरोपमा ६ जना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २२ कात्तिक । निर्मला कुर्मीको अपहरण काण्डलाई लिएर अन्तत प्रहरीले एक्सन लिएको छ । प्रहरीले सो काण्डमा संलग्न ६ जनालाई सोमवार पक्राउ गरेको जनाएको छ ।
नेपालगञ्ज–१७ परस्पुरकी निर्मला अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उनिहरुमाथि कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोप छ । ‘अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्छौं,’ डीएसपी न्यौपानेले भन्नुभयो,‘सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्छौं ।’
आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ भने पूर्वसांसद बादशाह कुर्मीले भदौमा आफैं जिल्ला प्रहरी कार्यालयमा गएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो ।
बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।
बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले गृहमन्त्री बालकृष्ण खाणसमक्ष केही दिन पहिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ ।
२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी,रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
भदौ ३ मा अदालतबाट ८ जना अभियुक्तलाई पक्राउ गर्न आदेश दिइएको थियो । गत भदौ १० मा पूर्वसांसद कुर्मीमात्रै प्रहरीसमक्ष उपस्थित भएर बयान दिएका थिए ।
सोही घट्नामा कारवाहीका लागि भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पिडित पक्ष लगायतका महिलाहरुले नेपालगञ्जबाट पैदल काठमाण्डौ पुगेर सिंहदरबार घेराउ गर्नुका साथै लामो धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *