नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ८ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले आइतवार सपथ लिएर कार्यभार समेत ग्रहण गरेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले एक भव्य कार्यक्रमविच सपथ गराउनुभयो ।
सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि सो सपथ ग्रहण कार्यक्रमको उदघाटन पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपालगञ्जको विकासका लागि आफुले निरन्तर सहयोग गरि राख्ने जनाउँदै संघ र प्रदेशबाट हुने सबै सहयोग दिलाउन प्रयत्नशिल रहने बताउनुभयो ।
सो अवसरमा निर्वाचित मेयर विष्ट, उप मेयर राईले पनि जनतासंग गरेका सबै प्रतिवद्धता पुरा गर्ने जनाउँदै अब काम शुरु गरि हाल्ने बताउनुभयो । उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत तिवारी, प्रदेशसभा सांसद याकुब अन्सारी, निवर्तमान मेयर धवल समशेर राणा, निवर्तमान उपमेयर उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल लगायतले पनि विजयी सबैलाई बधाई दिंदै जनताको अपेक्षा पुरा गर्न कुनै कसर नराख्न आग्रह गर्नुभयो ।
मेयर र उपमेयरले आइतवारनै कार्यभार सम्हाले लगत्तै ८ वटा महत्वपूर्ण निर्णयहरु समेत गर्नुभएको छ । ती निर्णयहरुमा सामाजिक भत्ता वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने, अपाङ्गता मैत्री कार्यालय भवन बनाउने, दैनिकरुपमा निस्कने फोहरलाई धरधनी वा व्यवसायी आफैले फोहोरको वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाईकर्मीलाई उपलब्ध गराउन उत्प्रेरित गर्ने, प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याइने र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयनमा ल्याउने, पशु बिमालाई जोड दिने उल्लेख गरिएको छ ।
कार्यभार सम्हाले लगत्तै गरिएका निर्णयहरुलाई स्थानीय मतदाताले निकै सकारात्मक बताउँदै कार्यान्वयनमा ध्यान दिनु पर्ने र तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

