४ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

विष्णु सेवेदी
काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ ।
रामचन्द्र पौडेल, डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ ।
पौडेललाई अघि बढाउन अरू नेताहरू तयार छैनन् भने अरूलाई स्वीकार्ने मुडमा पौडेल देखिनुभएको छैन । हालै पौडेललाई सत्ता गठबन्धनमा सहभागी पाँच दलीय संयन्‍त्रको संयोजक बनाउने निर्णयपछि खासगरी संस्थापन इतर समूहमा एक प्रकारको भुइँचालो नै गएको छ । पौडेलले देउवासँग घाँटी जोडेको भन्दै पौडेलका सहयात्रीका रूपमा रहेका प्रकाशमान सिंह, डा।शशाङ्क कोइराला र डा।शेखर कोइरालाहरू नै पौडेलप्रति सशङ्कित देखिनुभएको छ । यो अवस्थामा पौडेल शेरबहादुर देउवाको प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी भन्दा पनि एउटा राजानीतिक सहयात्री वा सहयोगीकै भूमिकामा प्रस्तुत भएको आरोप संस्थापन इतरका नेता कार्यकर्ताले लगाउन थालेका छन् ।
पछिल्ला दिनमा प्रकाशमानले पनि पौडेलको खुलेआम विरोध गर्नुभएको छ । प्रकाशमानले आफू निकटका सहयोगीहरूसँग डा शेखरलाई मानेर अघि बढ्न नसकिने र रामचन्द्रको भरोसा नभएकोले बरु देउवासँग डिल गरेर अघि बढ्नु उपयुक्त हुने बताउन थाल्नुभएको छ । सभापतिका अर्का आकाङ्क्षी डा शशाङ्क कोइराला पनि देउवासँग पहिलेदेखि नै नरम देखिनु हुन्छ । आफू सभापति नहुने अवस्थामा शशाङ्कले पनि देउवासँगै रणनीतिक साझेदारी गरेमा अचम्म नमान्दा हुन्छ ।
सुजाता कोइरालाले रामचन्द्र र डा। शशाङ्कभन्दा बरु देउवा ठिक भनिसकेको अवस्था छ । उता विमलेन्द्र निधिले हतारहतारमा तामझामका साथ सभापतिको उम्मेदवारी घोषणा गरे पनि अहिलेसम्म महाधिवेशका लागि आफ्नो समूहसमेत बनाउन सक्नुभएको छैन । नेता निधि यतिबेला न त उहाँ पुरानै टिममा फर्किन मिल्ने न त संस्थापन इतरसमूहसँग सहकार्य गरेर अघि बढ्ने अवस्थामा पुग्नुभएको छ । हतारको नेतृत्वको महत्त्वकाङ्क्षाले अप्ठ्यारोमा परेको अनुभव निधि स्वयंलाई हुन थालेको छ ।
सभापतिका अर्का आकाङ्क्षी कृष्णप्रसाद सिटौला मौन हुनुहुन्छ । पौडेल समूहभित्रको झगडालाई ‘क्यास’ गर्दै संस्थापनसँग डिल गरेर बढी भागबन्डा लिने दाउमा सिटौला हुनुहुन्छ । त्यसैले संस्थापन इतर पक्षमा कसैले पनि कसैलाई मान्‍ने वा विश्‍वास गर्ने अवस्था देखिएन । यो अवस्थालाई संस्थापन पक्षले रणनीतिक रूपमा उपयोग गर्दै मुभ गर्ने हो भने संस्थापन पक्षको पोजिसन सुरक्षित र बलियो देखिन्छ ।
पौडेल समूह सुरुदेखि नै कुनै कार्यक्रम, योजना तथा अभियानभन्दा पनि भागबन्डाको राजनीतिमा बढी अल्झिएको कार्यकर्ताको आरोप छ । महाधिवेशनमा चुनाव हारेपछि पनि निर्वाचित नेतृत्वलाई सहज रूपमा काम गर्न नदिने र संस्थापन पक्षसँग सधैँ बार्गेनिङ गर्दै सङ्गठन निर्माण र कार्यकर्ता परिचालनको स्वाभाविक गतिलाई बिथोलेको आरोप पौडेल समूहमाथि छ । गुटबन्दीको संस्कृतिलाई मलजल गर्ने काम यही समूहबाट बढी भएको छ । कांँग्रेसको आन्तरिक जीवनमा समेत यसले नकारात्मक असर परेको छ ।
संस्थापन इतर पक्षका वरिष्ठ नेताहरूबीच नै नेतृत्वका लागि हानथाप भएपछि त्यहाँ रहेका युवा नेताहरू पनि निरास देखिन्छन् । सभापतिको उम्मेदवार टुङ्गो नलाग्दा उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीका लागि आकाङ्क्षी युवा नेताहरू अन्योलमा परेका छन् । अब प्यानल वा गुटको टिकट पर्खिनुभन्दा बरु आफ्नै तयारी र योजनाअनुसार अगाडि बढाउने मुडमा देखिन्छन् । कतिपय नेताले समूहभन्दा पनि आफ्नो व्यक्तिगत तर्फबाट समेत उम्मेदवारी घोषणासमेत गरेका छन् । ( गोरखापत्र दैनिकबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *