३१ जेष्ठ २०८१, बिहीबार

बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

बर्दियाकी जुवेदा खातुन– काँग्रेस केन्द्रिय सदस्यसम्मको गर्विलो राजनीतिक यात्रा

प्रकाश धौलाकोटी
बर्दियाको मुस्लिम समुदाय, जहाँका महिलालाई अहिले पनि ‘नकाब’ उतार्न अनुमति छैन । संघसंस्था, सामाजिक काम गर्ने वा राजनीतिमा लाग्ने होइन, गाउँ नजिकका हाटबजारसमेत खुल्ला रुपमा हेर्न पाएका छैनन् यहाँका मुस्लिम महिलाले ।
छोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने मान्यता अझै जीवित छ । कसैले छोरी पढाउने हिम्मत गरे उसले समाजमा विकृति फैलाएको आरोप खेप्नुपर्छ, जसकारण यहाँ धेरै छोरीले अहिले पनि पढ्न पाएका छैनन् ।
त्यही मुस्लिम समुदायकी एउटी छोरी र बुहारी हुन्— जुवेदा खातुन । जसले समाज र अन्धविश्वासले पहिर्‍याएको नकाब खोलेर गर्विलो राजनीतिक यात्रा तय गरेकी छिन् । कांग्रेसको भर्खरै सकिएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी खातुन आफूले नसोचेको सफलता पाएको बताउँछिन् । कांग्रेसमा मुस्लिम समुदायबाट निर्वाचित भएर केन्द्रीय सदस्य बन्ने पहिलो महिला हुन् उनी ।
न राजनीतिक घराना, न गहिरो राजनीतिक चेत । पछाडि परेको आफ्नो समुदायको सशक्तिकरण गर्नुपर्छ भन्ने उनको चेतना देखेर गाउँका अगुवाले उनलाई राजनीतिमा लाग्न प्रेरित गरे । ०६६ सालमा उनले घरैमा कांग्रेसको क्रियाशील लिइन्, १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिन्, र अहिले केन्द्रीय कार्यसमिति सदस्य ।

३९ वर्षसम्म परिवार र समाजसँग अन्धविश्वासविरुद्व संघर्ष गरेकी उनकालागि बरु राजनीतिको यो यात्रा निकै सजिलो बन्यो । सदस्यता पाएको १२ वर्ष नबित्दै उनी केन्द्रीय सदस्य बनेकी छिन् । ‘केन्द्रीय सदस्य बन्छु भनेर मैले सोचेकी पनि थिइनँ, म एउटा पछाडि पारिएको समुदायको सामान्य महिला, पार्टीले नेता र कार्यकर्ताहरूले यो अवसर दिनुभयो, धेरै खुसी छु,’ जुवेदाले भनिन् ।
बर्दियाको बाँसगढी नगरपालिका–८ की उनी आफूलाई सामान्य महिला ठान्छिन् । ‘मेरो बलियो आर्थिक स्थिति छैन । धेरै पढेलेखेकी पनि होइन, पार्टीमा धेरै काम गरेकी छैन, म त सामान्य महिला हुँ,’ उनी भन्छिन्, ‘मलाई कांग्रेसजस्तो पार्टीले केन्द्रीय समितिमा जिम्मेवारी दिएको छ । मलाई त बल्ल महसुस भयो, कांग्रेस भनेको सबै जातजातिको पार्टी हो, सबै आँट्ने पार्टी हो ।’
उनलाई पार्टीमा लागेर धेरै ठूलो सफलता पाउने महत्वाकांक्षा छैन, न त राजनीतिमा लागेर धेरै कमाउने रहर । भन्छिन्, ‘मलाई मुस्लिमहरूमा छोरीहरूलाई पढाए केही हुन्न भन्ने चेतना भर्नु छ, मुस्लिमको हक अधिकारको कुरा सुनिश्चित गर्नु छ ।’
कांग्रेसले पहिलो पटक आफ्नो विधानमै व्यवस्था गरेर केन्द्रीय समितिमा मुस्लिम महिलाको सहभागिता सुनिश्चित गरेको थियो । त्यही आरक्षणले जुवेदाले केन्द्रीय कार्यसमितिमा आउने ढोका खोलेको हो ।
त्यसो त उनी जिल्लामा भने खुला महिलामै प्रतिस्पर्धा गरेर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनेकी थिइन् । बर्दियामा उनी एक्ली महिला थिइन्, जसले सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधि जितिन् । समावेशी समानुपातिक व्यवस्थाले उनका लागि पार्टी राजनीतिको केन्द्रीय समितिसम्मको यात्रा सहजै बनेको छ, तर यहाँसम्मको यात्रा भने निकै कठिन र संघर्षमय रहेको उनी सुनाउँछिन् ।
‘म नै पहिलो महिला हुँ, जो मुस्लिम समुदायबाट कांग्रेसको केन्द्रीय सदस्य बनेकी छु । नत्र हामी कहाँ अझैपनि महिलालाई घरबाहिर निस्किने अनुमति छैन, अहिले बल्ल बल्ल हाटबजार, मेलापात गर्न छुट छ । तर सामाजिक काममा उनीहरु सहभागी हुन पाउँदैनन,’ उनले सुनाइन् ।
इकान्तिपुरले सुन्धारा पुगेर उनलाई भेट्दा उनका श्रीमान् साथमै थिए, काखमा दुई वर्षको छोरो । ‘मेरो यो सफलताको सबै श्रेय मेरो श्रीमान लाई दिन्छु । मैले यहाँसम्म आउन धेरै दुख भोगेकी छु, धेरै कुराहरू सुनेकी छु, तर मैले भन्दा धेरै मेरो श्रीमानले सुन्नुपर्‍यो, सहनुपर्‍यो । यदि श्रीमानको साथ हुन्थेन भने म पनि नकाबभित्रै हुन्थेँ ।’
उनका श्रीमान् निरक्षर छन्, तर उनी अहिले पनि स्नातह तहकी विद्यार्थी हुन् । ठुली छोरी स्नातक दोस्रो वर्ष, माइली प्लस–टु र अरु दुई छोरी पनि पढ्दैछन् ।
७ कक्षा पढ्दा–पढ्दै विवाह
गाउँको गरिब मुस्लिम परिवार, त्यसमाथि महिलालाई नकाबभित्रै थुन्नुपर्ने संस्कार । छोरीलाई पढाउनुहुन्नँ भन्ने चलन हुँदा–हुँदै पनि उनका बुवाआमाले घर नजिकै स्कुल भएकाले भर्ना गरिदिए । उनले कक्षा–५ सम्म राम्रैसँग पढिन् । तर, त्यसपछि भने उनको पढाईमाथि समाजको कुसंस्कार भारी पर्‍यो ।
‘छोरी पढाएर के हुन्छ रु पछि नाक काट्ली अनि थाहा पाउछौँु गाउँलेले जुवेदाका बुवालाई भन्न थालेका थिए । उनले पढ्छु, मलाई पढ्न मन छ भनेकै थिइन् । तर, समाजका अघिल्तिर उनका बुवाले घुँडा टेके, स्कुल जान रोक लगाए । उनी भागी–भागी स्कुल गइन् । स्कुल जान रोक लगाएको दुई वर्षसम्म पनि उनले स्कुल छाडिनन् । अन्ततस् उनको ७ कक्षामा पढ्दा–पढ्दै विवाह भयो । विवाहपछि उनको दैनिकी फेरि नकाबमै सीमित बन्यो ।
उनले विवाहपछिका १५ वर्ष घरमै बिताइन् । श्रीमान् फरमान अली राँगाको व्यापार गर्थे । घरको आर्थिक अवस्था ठिकै थियो, तर शैक्षिक हिसाबले सबैभन्दा धेरै पढेकी जुवेदा नै थिइन् । ‘मुस्लिम बस्तीमा ७ कक्षा पढ्ने छोरी म मात्रै थिएँ, त्यो पनि भागी–भागी स्कुल गएर पढेकी,’ जुवेदा भन्छिन्, ‘छोरीलाई पढाए विकृति फैलिन्छ भन्ने गाउँमा बुहारीले पढ्न पाउने कुरा कसरी सोच्नु र ?’
जब उनी छोरीसँगै स्कुल जान थालिन् ………
विहे भएको १५ वर्षपछि जुवेदाले यस्तो मौका पाइन्, जसले उनलाई आज यो उचाईमा पुर्‍याएको छ । ४ छोरीकी आमा उनी मुस्लिम–थारु बस्तीकी पढेलेखेकी, कुरा बुझ्ने बुहारीमा पर्थिन् । गाउँमा नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहले ‘सुशासन कक्षा’ चलाएको थियो । वन समूहका पदाधिकारीले जुवेदालाई पनि त्यो सुशासन कक्षामा पठाउन उनका श्रीमान् र सासुआमालाई भन्न थालेका थिए । पछि सासुआमा र श्रीमान् मञ्जुर भए, उनी सुशासन कक्षामा सामेल भइन् ।
पढ्ने भोक नमेटिदै व्यवहारिक जीवनमा फसेकी उनका लागि वन समूहले चलाएको १६ हप्ते ‘सुशासन कक्षा’ जीवनकै टर्निङ प्वाइन्ट बन्यो । ‘मेरो जीवनको टर्निङ प्वाइन्ट नै त्यही हो, त्यो कक्षामा मैले त्यस्ता कथाहरू पढ्न पाएँ, जसले गर्दा मलाई फेरि स्कुल जाने, पढ्ने र समुदायका लागि काम गर्ने इच्छाको पुनर्जागरण भयो । म त कुवाको भ्यागुत्ता जस्तो थिएँ, त्यो १६ हप्ते कक्षाले मेरो आँखा खोलिदियो, मैले श्रीमान् र परिवारलाई आफ्ना इच्छा चाहनाहरू बुझाउन सकेँ,’ जुवेदा भन्छिन्, ‘नभए त म यहाँसम्म कसरी पुग्थेँ र रु’
सुशासन कक्षापछि उनी छोरीसँगै स्कुल जान थालिन् । कक्षा–८ मा भर्ना भएर फेरि पढ्न थालिन् । ‘मैले फेरि पढ्नका लागि धेरै श्रीमान् र सासुआमालाई त सम्झाएँ, तर समाजसँग लड्न धेरै कठिन भयो,’ उनी सम्झिन्छिन्, ‘छोरी पढाउनु हुँदैन भन्ने समाजमा बुहारी, त्यो पनि ४ सन्तानकी आमा स्कुल जाने कुरा हाँसोको विषय बन्यो ।’
गाउँमा बुहारीले साइकल चढ्नुहुँदैन भन्ने चलन थियो । स्कुल ४ किमि टाढा थियो, साइकल चढ्नुपर्थ्यो । ‘म मान्छे देखिन्जेल डोर्‍याउँथे, एक्लै भएपछि साइकलमा चढ्थेँ, हिँड्दा पनि कसैले केही भन्छ कि भनेर धकाएर हिड्नुपर्थ्यो,’ उनले अघि सुनाइन्, ‘कत्तिले त यत्रो बुढी भएर पढ्न लाज लाग्दैन भन्थे, तर मलाई के को लाज र रु’
०७० सालमा उनले ठूली छोरीसँगै एसएलसी उत्तीर्ण गरिन्, छोरीसँगै प्लस–टु पनि सकाइन् । शैक्षिक चेतनासँगै उनले मुस्लिम समुदायको सामाजिक चेत खुलाउने अभियान थालिन् । संघसंस्था र सामाजिक क्षेत्रमा काम गर्न थालिन् । वन समूहको सदस्य हुँदै उनी सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य बनिन् । अहिले उनी पिछडावर्ग सञ्जालको संयोजक छिन् । उनी मेची–महाकाली बुहारी संयुक्त आवाज नामक सञ्जालको बर्दिया जिल्ला संयोजक पनि हुन् ।
संघसंस्था र सामाजिक कामले उनलाई राजनीतिसँग जोड्यो, नेपाली कांग्रेसमा लागेर सक्रिय राजनीतिमा लागिन् । कांग्रेसले उनलाई ०७४ को प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार समेत बनाएको थियो ।
‘महिलाहरू अहिले पनि खुम्चिएर बसेका छन्, मैले श्रीमान् बाट समाजलाई चिर्न सक्ने साथ पाएँ, नत्र मुस्लिम समुदाय त जहाँको त्यही छ, समस्या त्यस्तै नै छन्, छोरीरबुहारीलाई काम गर्नलाई छुट छ, घाँस दाउरा गर्न छुट छ, तर पढ्न पाएका छैनन्, स्वतन्त्र भएर हिडडुल गर्न पाउँदैनन्,’ जुवेदा भन्छिन्, ‘म त भाग्यमानी हुँ, छोरी नै पढ्न नपाउने ठाउँमा बुहारी भएर पढ्न पाएँ, संघसंस्थामा लागेको छु, स्वतन्त्ररुपमा घरबाहिर हिँडडुल गर्न पाएकी छु ।’
मुस्लिम समुदायको संस्कार र समाजको नकाब तोडेर उनी अब समुदायको रेखदेख गर्ने स्थानमा पुगेकी छिन् । गाउँमा स–साना समस्या पर्दा देखि मुद्दा मामिला पर्दासम्म गुनासो गर्ने, जान्ने बुझ्ने, सोध्नुपर्ने मान्छे बनेकी छिन् उनी । ‘पहिले हियाउनेहरू अब त इज्जत गर्छन्, पहिले कुरा काट्ने मान्छेहरू पनि अहिले सम्मान गर्न थालेका छन्,’ उनी सुनाउँछिन्, ‘अब सबै मुस्लिम महिलालाई नकाबबाट उतार्नुपर्ने मैले कर्तव्य ठानेकी छु ।’
‘मुस्लिम महिला आम महिलासँग प्रतिस्पर्धा गर्न सक्दैनन्’
कांग्रेसले पहिलो पटक मुस्लिम महिलालाई केन्द्रमा प्रतिनिधित्व गराएको छ । तर, जुवेदा भने सबै क्षेत्रमा मुस्लिम महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने बताउँछिन् । ‘राजनीतिमा होस् वा जुनसुकै क्षेत्रमा महिलाले पाउने आरक्षण सबै खसआर्य महिलाको पहुँचमा छ, नकाबमा रहेका महिलाले आममहिलासँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ उनी भन्छिन्, ‘मुस्लिम महिलाका लागि छुट्टै आरक्षण दिनुपर्छ ।’
अहिलेसम्म मुस्लिम समुदायबाट औंलामा गणना हुने महिलाहरू मात्रै सामाजिक राजनीतिक क्षेत्रमा आएको उनी बताउँछिन् । ‘अब स्थानीय तहदेखि माथिसम्म मुस्लिम समुदायको समानुपातिक सहभागितालाई जोड दिनुपर्छ । उनीहरूको आर्थिक सामाजिक जीवनस्तर उकास्नकालागि राज्यले ध्यान पुर्‍याउनुपर्छ,’ उनले भनिन् ।
उनले यसपटक कांग्रेसले मुस्लिमलाई धेरै ठाउँ दिएको बताइन् । ‘कांग्रेसले यो महाधिवेशनमा मुस्लिमलाई मात्रै होइन, सबै समावेशी समूहको सहभागिता सुनिश्चित गरेको थियो, त्यसैले धेरै ठूलो संख्यामा मुस्लिम मसुदायको सहभागिता भएको छ,’ उनले भनिन्, ‘बोलाएर त कसैले पनि दिदैन, त्यसैले म सबै मुस्लिम महिलालाई नकाब निकालेर प्रतिस्पर्धा गरौँ, घरबाट बाहिर निस्कौँ भनेर आव्हान गर्न चाहन्छु ।’
उनले अहिलेको समावेशी व्यवस्था देखावटीरुपमा मात्रै भएको बताइन् । ‘यो समावेशी छ भनेर देखाउनको लागि मात्रै गरेको देखिन्छ । निर्णायक भूमिका दिइएको पाइदैन । त्यसकारण कुनै पनि समावेशी समूहको अर्थपूर्ण सहभागिता हुन सकेको छैन,’ उनले भनिन् ।(कान्तीपुर अनलाइनबाट )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *