१५ चैत्र २०८०, बिहीबार

बाँके राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक महिलाको मृत्यु

बाँके राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक महिलाको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २२ । केही समययता आएर शुरु भएको जिल्लाका विभिन्न स्थानमा बाघले मानिसलाई मार्ने तथा आक्रमण गर्ने क्रम जारी नै रहेको छ । सोही क्रममा बाघको आक्रमणबाट जिल्लाको राप्तीसोनारीमा थप एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–४, प्रसोनाकी ५२ वर्षीया लीला विष्टको विहिबार बाघको आक्रमणबाट मृत्यु भएको हो।
बिहीबार दिउँसो १२ बजेतिर स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो।
विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। दुई बजेतिर प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको थियो। होहल्ला गर्दा पनि बाघ नभागेपछि प्रहरीले दुई राउन्ड फायर गरेपछि मात्र शव छोडेर बाघ भागेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो।
यसअघि बुधबार मात्रै राप्तीसोनारी गाउँपालिका– ४, बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो। गंगा बाघको आक्रमणबाट बच्न सफल भएकी थिइन्। उनको शरीरका विभिन्न ठाउँमा बाघको नंग्राले कोतरेको छ। केही दिनअघि राप्तीसोनारी गाउँपालिका–५ र ६ को जंगलमा मोटरसाइकलमा रहेका क्याम्पस प्रमुखलाई बाघले झम्टेको थियो।
राप्तीसोनारी गाउँपालिका–४ को क्षेत्रमा केही दिनदेखि बाघको आक्रमण बढेको छ। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले शुक्रवारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई निकुञ्जतिर लखेट्न शुरु गर्ने बताउनुभयो ।
बाँकेमा पछिल्लो तीन महिनामा बाघले तीन जनाको ज्यान लिएको छ। निकुञ्जसँग जोडिएको पूर्व–पश्चिम राजमार्ग र राप्तीसोनारी तथा नरैनापुर क्षेत्रमा बाघको आक्रमण र त्रास बढ्दै गएको स्थानीयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *