१६ चैत्र २०८०, शुक्रबार

बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

सिराज खान
नेपालगञ्ज, पुस २५ गते । बाँकेको राप्तीसोनारीमा बाघको आतंक अत्याधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएको छ ।
उहाँले संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताउनुभयो ।
उहाँका अनुसार सो टोलीले नेपालगञ्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गर्नेछ ।
स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रशारण गरेर स्थानीय बासिन्दालाई जंगलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
यसैबीच, बाँके निकुञ्जले पनि राप्तीसोनारीमा बाघ धपाउन थप हात्ती र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यसअघि पनि दुई वटा हात्तीलाई निकुञ्जले पठाएको थियो ।
दुई दिनमै बाघले राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अत्याधिक त्रसित भएका छन् । राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उहाँहरुलाई बाघले मारेको हो ।
योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले चार जनाको ज्यान लिइसकेको छ । विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
3

1 Comment

  • राम कृष्ण चौधरी

    आक्रमणकारी बाघलाई‌ नियन्त्रण गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *