११ बैशाख २०८१, मंगलवार

मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक ११ । बाँकेको पुर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिना अघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा
सो वरिपरिका गाउँबस्तीमा त्रास र डर कायमै रहेको छ ।
सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका वासिन्दा घरबाट निस्कन समेत डराई रहेका छन् भने उनिहरुले दसैं जस्तो चाडपनि घरमै कैद भएर मनाएको दुखेसो सुनाएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेपनि अझै नियन्त्रणमा लिन सकेको छैन ।
उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको पाईएको निकुञ्ज कार्यालयले जनाएको छ ।
बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि पशु चौपायालाई घरभित्रै थुनेर राख्नुका साथै आफुहरु पनि घर बाहिर एकदमै कम निस्किएको गाभरका दिल बहादुर ओलीले बताउनुभयो ।
उहाँले सो क्षेत्रमा चारवटा वयस्क पाटे बाघ देखिएपछि सर्वसाधारणमा ठुलो डर र त्रास उत्पन्न भएकोले कोही पनि घरबाट निस्कन नचाहेको बताउनुभयो ।
सोही क्षेत्रका अर्का वासिन्दा नरेश थापाले बाघ आतंकका कारण चाडपर्व पनि घरमै लुकेर मनाएको सुनाउँदै निकुञ्जले नियन्त्रणमा लिन नसक्ने हो भने बाहिरबाट मानिस बोलाउनु पर्ने माग गर्नुभयो ।
बाँके निकुञ्जका रेन्जर राजन पण्डितले निरन्तर प्रयास भैरहेपनि बाघ नियन्त्रणमा लिन समस्या भइरहेको बताउनुभयो । ‘बाघ नियन्त्रण गर्न राखेको पाडो बाघले राती आएर मारेर खाएको छ, बाघमाथि निगरानी बढाइए पनि नियन्त्रणमा लिन सकिएको छैन,’ उहाँले भन्नुभयो ।
बाघले थप घटना गर्न सक्ने भएकाले अहिले पनि निकुञ्जका दुई घरपालुवा हात्ती गाभरमै राखिएको र सेनाको गस्ती पनि निरन्तर भैरहेको उहाँले जनाउनुभयो । निकुञ्जका अनुसार बाघ नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी दैनिक खटिएका छन् । ठाउँ–ठाउँमा क्यामेरा जडान गरी हात्तीसहित सेना र कर्मचारीले बाघको निगरानी गरिरहेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघ अझै त्यस क्षेत्रमा रहेकाले पूर्व–पश्चिम राजमार्गमा राति साना सवारी साधनलाई आवतजावत गर्न पूर्णरूपमा रोक लगाइएको बताउनुभयो ।
निकुञ्जले बाघ नियन्त्रणमा लिन दुई खोर तयारी अवस्थामा राखेको छ । गत महिना पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा ४५ वर्षीय पुरुषको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो ।
सो घट्नापछि उक्त क्षेत्रमा बाघको आतंकले आवागमन गर्नेदेखि त्यहाँ बसोबास गर्ने सबैलाई त्रसित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *