१४ बैशाख २०८१, शुक्रबार

राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

राप्तीको खानेपानी तीन महिनामा नेपालगञ्ज पुग्ने, ८० प्रतिशत काम पुरा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेपालगञ्ज उपमहानगर भित्रको खानेपानी अभावको समस्या समाधानका लागि ५ वर्षअघि शुरु गरिएको बहुप्रतिक्षित राप्ती खानेपानी आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको ।
बाँकी रहेको २० प्रतिशत निर्माण कार्यलाई आगामी तीन महिनाभित्र पुरा गरेर राप्ती नदीबाट प्रशोधित गरेर ल्याईएको खानेपानीलाई उपभोक्ताको घरमा पुरयाइने खानेपानी संस्थान नेपालगञ्जले जनाएको छ ।
डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीबाट १६ किलोमिटर पाइप विछाएर खानेपानी नेपालगञ्ज पुरयाउने सो आयोजना अन्तर्गत १३ किलोमिटर पाइप बिछाउने कार्य सम्पन्न भैसकेको र बाँकी रहेको तीन किलोमिटरको काम पनि भैरहेकोले तीन महिनाभित्र पानी पुग्ने खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरी कुमार श्रेष्ठले बताउनुभयो ।
राप्तीनदीबाट ल्याईएको पानीलाई नेपालगञ्जको कारकाँदो, बागेश्वरी टोल, जयसपुर र पुरैनामा निर्माण गरिएका ट्यांकीहरुमार्फत आम उपभोक्ताको घरघरमा पुरयाउने प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले सो आयोजनामा ढिलाई हुनुको कारण ठाउँठाउँमा जग्गा विवाद हुनु, अख्तियारको छानविन तथा पाइप बिछाउनका लागि सडकमा जग्गा खन्ने अनुमति पाउन ढिलाई हुनु भएको बताउनुभयो ।
प्रमुख श्रेष्ठका अनुसार उक्त आयोजना पुर्ण रुपमा सम्पन्न भएपछि दैनिक २ करोड लिटर पानी आउनेछ भने हाललाई शुरुमा ६० देखि ७० लाख लिटर दैनिक पानी ल्याएर वितरण गरिने छ ।
नेपालगञ्जको कारकाँदो राधाकृष्ण मन्दिर नजिक ११० मिटर सडक खन्नका लागि उपमहानगरमा रकम जम्मा गरिसकेपनि अनुमति नदिईएकोले काममा ढिलाई भएको खानेपानी संस्थानको कार्यालयले जनाएको छ ।
डुडुवा नदीमा पाइपका लागि ट्रस्ट ब्रिज निर्माणको काम पनि बाँकी रहेकोले सो काम पनि तीन महिनाभित्रै पुरा गरिने संस्थानले जनाएको छ ।
२०७३ सालमा ३० करोड ६२ लाखको लागतमा निर्माण शुरु गरिएको सो आयोजनाको निर्माण कार्य सम्पन्न भएर पानी पुगेपछि नेपालगञ्जमा हाल देखिएको खानेपानीको अभाव र समस्या समाधान हुनेछ ।
दैनिक १ करोड लिटर भन्दा बढी पानीको माग र खपत रहेको नेपालगञ्जमा खानेपानी संस्थानले ४० देखि ५० लाख लिटर मात्रै पानी वितरण गर्दै आएको छ ।
हाल नेपालगञ्ज ४ हजार ७ सय घरधुरीले मात्रै खानेपानी संस्थानको पानी उपभोग गरिरहेको संस्थानले जनाएको छ ।
संस्थानको पानी अपुग हुँदा उपमहानगरमा अधिकांशले हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट खानेपानी प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *