नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३ मंसिर । बाँकेको राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा शुक्रवार सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरबाट १७६ जना विपन्नले स्वास्थ्य सेवा पाएका छन् ।
जिल्लाको दुर्गम स्थानमा गएर असल छिमेकी सामुदायिक हस्पिटलले आयोजना गरेको सो स्वास्थ्य शिविरमा आएर उक्त क्षेत्रका १७६ जना विरामीले निशुल्क स्वास्थ्य उपचार सेवा पाएको आयोजकले जनाएको छ ।
उपचारका लागी पुगेका स्थानीयहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ्गमा कार्यरत नाक, कान, घाँटी रोग बिशेषज्ञ डाक्टर प्रकाश बसेल र भेरी अस्पताल नेपालगंजमा कार्यरत जनरल फिजिसियन डाक्टर सल्मान शेषले चेकजाँच गरी उपचार परामर्श दिनुभएको थियो ।
निशुल्क स्वास्थ्य शिविर गाउँमै पुगेपछि स्थानीयले निकै खुशी भएर स्वास्थ्य परिक्षण गराएको र आयोजकप्रति आभार समेत प्रकट गरेका थिए ।

