नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ८ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्रकुमार सिंहले नेपालगञ्जको शान्ति सुरक्षासंगै अपराध नियन्त्रण र लागु औषधको कारोबार र सेवन नियन्त्रणमा आफ्नो विशेष फोकस हुने बताउनु भएको छ । उहाँले जनताको सहयोगले नगरलाई अपराधमुक्त र गैर कानुनी क्रियाक्लाप न्युनिकरण गर्न हरसंभव प्रयास गरिने बताउनुभयो ।
हालै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जमा सरुवा भएर आउनु भएका प्रहरी निरिक्षक सिंहले पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गरेर सो बताउनु भएको हो। सो अवसरमा उहाँले पत्रकारहरुसंग यहाँको अवस्थाका बारेमा सुझाव माग्नुका साथै अन्तरक्रिया समेत गर्नु भएको थियो ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज मिडियामैत्री रहने विश्वास दिलाउँदै उहाँले आफु आपराधिक गतिविधि नियन्त्रणमा कडाईका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका नगरका प्रमुख समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गरि अघि बढ्ने वडा प्रहरी प्रमुख सिंहको भनाई थियो ।
प्रहरी एक्लैले समस्या समाधान गर्न नसक्ने भएकोले पत्रकार र नागरिकस्तरबाट पनि साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । प्रमुख सिंहले वडा प्रहरी कार्यालयलाई मानव अधिकार मैत्री बनाउने बताउदै नागरिकहरुले आफ्नो गुनासो सहज तरिकाले दिन सक्ने परिपाटी र वातावरण बनाउने पनि बताउनुभयो ।
सो अवसरमा कार्यक्रममा सहभागि पत्रकारहरुले नेपालगञ्जमा लागु औषधको ठुलो समस्या रहेको, देह व्यापार, तस्करी, चोरी पैठारी लगायत ट्राफिक व्यवस्थापन निकै चुनौतीपुर्ण रहेकोले त्यतातिर विशेष ध्यान दिन सुझाव दिएका थिए ।

