१३ बैशाख २०८१, बिहीबार

नेपालमा सबैभन्दा पहिले रेल बर्दियामा चलेको हो

नेपालमा सबैभन्दा पहिले रेल बर्दियामा चलेको हो

दिनेश प्रसाद श्रेष्ठ, बर्दिया
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो। यो रेल १०८ बर्ष अघि सन् १९१० बि सं १९६७ देखि शुरु भएर सन् १९२० बि सं १९७७ सम्म १० बर्ष मात्र संचालनमा थियो। तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो। यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जेभी कोलिएर आफैले ठेक्का लिएका थिए। उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनियारबेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर्षपछि रेल लाइन बिछ्याएका थिए ।
बर्दियामा यो रेल नेपाल भारत सीमाको निसानगाडा भारतपट्टि देखि पश्चिम नजिकैको टेघराचौकीबाट ढोढरीको मधुवन, माचड, गमक्का, बसन्ता र बन्द्राज गाउँस बगनाहको शाहीपुर र तकिया पश्चिमपट्टिको जङ्गल क्षेत्रस नेउलापुरको नेउलापुर, सतघरुवा, रानीपुर र कर्मला तथा शिवपुरको पुरानो अम्बासा गाउँको पूर्वबाट हुँदै ऐलेको राजमार्गको उत्तर खयरभट्टीसम्म बिच्छाइएको रेल लाइनमा चल्थ्यो । टेघराचौकीदेखि खयरभट्टीसम्म करिव ३५ किलोमिटर दुरीसम्म यो रेल चल्थ्यो।
बर्दियामा रेल चलेको ३, ४ बर्षपछि मात्रै नेपालको रक्सौल सिर्सैयादेखि अमलेखगञ्ज भिक्षाखोरीसम्म ४७ किलोमिटरको दूरीसम्म ३१ जनवरी १९२७ ५ फागुन १९८३ मा राजा त्रिभुवनबाट उद्घाटन भएर सार्वजनिक रेल सेवा चलेको थियो। यसपछि जयनगर जनकपुर ३२ किलोमिटर र जनकपुर बिजुलपुरा २१ किलोमिटर रेल्वे यातायात विस्तारित भएको थियो। यसलाई अझ पछि बर्दिवाससम्म विस्तार गरियो
त्यतिबेला, संसारमै रेल चलेको ईङलैण्डको स्टाँवटन र डार्लिङटनबीच सन् १८२५ मा ८५ बर्षपछि र भारतमा रेल चलेको महाराष्ट्रको बम्बई र ठाणेबीच १६ अप्रिल १८५३ मा ५७ बर्षपछि नेपालको बर्दिया जिल्लामा रेल चलेको थियो।
यो रेल चढेका २, ४ जना स्थानीय बृध्दहरुसंग मैले भेट र कुराकानी पनि गर्ने अवसर पाएको थिए। तर अब वहाँहरु दिवंगत भई सक्नु भएको छ। साथै टेघराचौकीदेखि खएरभट्टिसम्मको पुरानो फलामे रेल लाइन झिकी सकिएको वा हिनामिना भई सकेको भए पनि टेघराचौकीदेखि खयरभट्टिसम्मै कोलिएर लाइन भनिने रेल्वे लिकको ट्रयाक र रेल्वे ट्रयाकबीच बीचको सालको काठको भत्केका र नभत्केका त्यतिबेला बनेका पुलहरु हामीले पनि देख्यौं र त्यो ट्रयाकमा हामीले साईकल पनि दौडाएका छौं। तर अब यो निशान अधिकांश ठाउँहरुमा नामेट भइसकेको छ। तापनि कतै कतै जङ्गलभित्र यो निशान अझै छ। ( लेखक बर्दियाका वरिष्ठ राजनितिज्ञ, चिन्तक, बुद्धिजिवी र लेखक हुनुहुन्छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
1
+1
0
+1
5
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *