८ बैशाख २०८१, शनिबार

नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

नेपाल भारत बोर्डर शुक्रवार बेलुकी ६ बजेदेखि सोमवार विहान ६ बजेसम्म पुर्ण रुपमा बन्द हुने

सिराज खान
नेपालगञ्ज, फागुन १२ । भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ति जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा यहाँस्थित नेपाल भारत जमुनाह सीमा नाका ६० घण्टाका लागि पूर्ण रुपमा बन्द गरिने भएको छ ।
बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएको हुँदा फागुन १३ गते शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्ण रुपमा बन्द गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई मिन बहादुर विष्टका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीविच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
उहाँले आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने हुँदा सर्वसाधारणले सोही बमोजिम गर्नुपर्ने बताउनुभयो । सो बारेमा सुचना दिने काम गरिरहेको पनि सई विष्टले बताउनुभयो ।
भारतीय क्षेत्रमा पनि सोही प्रकारको सूचना भारतीय सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका छन् । सीमापारी भारतको रुपैडिहा थानाका अनुसार निर्वाचन आयोगको निर्देशन बमोजिम ६० घण्टाका लागि सीमाना कडा रुपमा बन्द गरिने छ ।
दुबै देशका सुरक्षा अधिकारीहरुले आ आफ्नो देशका नागरिकलाई सो बारेमा अग्रिम जानकारी दिने कार्य विभिन्न माध्यमबाट गरिरहेकोले सीमानामा कुनै समस्या नहुने पनि दुबै देशका सुरक्षा अधिकारीहरुले जनाएका छन् । निर्वाचन प्रयोजनका लागि रुपैडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै चेकजाँच समेत कडा पारिएको रुपैडिहा प्रहरी थानाले जनाएको छ ।
सुरक्षा व्यवस्थापन अन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त गस्ती गरिरहेको तथा गाउँबस्तीमा समेत सुरक्षालाई थप चुस्त बनाइएको जानकारी दुबै देशका सुरक्षा निकायले दिएका छन् । सीमानाको मूख्य नाका बाहेकका अन्य साइड नाकाहरुमा पनि सुरक्षाकर्मीहरु तैनाथ गरिएको भारतीय प्रहरीले जनाएको छ । (गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
3
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *