७ बैशाख २०८१, शुक्रबार

बाँके बर्दियामा बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी र तोडफोड

बाँके बर्दियामा बाघ गणनाका लागि राखिएका २३ क्यामेरा चोरी र तोडफोड

रासस
राँझा, बाँके, माघ २६ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । ( रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *