११ बैशाख २०८१, मंगलवार

भेरी अस्पतालमा कोरोनाका दुई जना मात्र विरामी, कोभिड वार्ड रित्तियो

भेरी अस्पतालमा कोरोनाका दुई जना मात्र विरामी, कोभिड वार्ड रित्तियो

सिराज खान
नेपालगञ्ज, पुस १ गते । कुनैबेला भेरी अस्पतालमा ठाउँ नपाएर कोभिडका विरामीलाई बरण्डादेखि चौरमा समेत राखेर उपचार गर्नुपरेको थियो । तर हाल आएर दुई जना मात्र संक्रमित भर्ना छन् ।
पश्चिम नेपालका कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका धेरै जिल्लाका गम्भीर संक्रमितको उपचार हुँदैआएको नेपालगञ्जस्थित भेरी अस्पतालमा अहिले हालसम्मकै सबैभन्दा कम दुई जना मात्र संक्रमितको उपचार भैरहेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेकाअनुसार पछिल्लो समय संक्रमित हुनेको संख्या कम हुँदै गएपछि अस्पताल पुग्ने पनि घट्दै गएका छन् । अब निको हुन दुई जना मात्र बाँकी रहेको अस्पतालले जनाएको छ ।
ती दुई जना संक्रमित पनि निको भएर घर फर्किएमा अस्पताल कोभिडका विरामीबाट खाली हुने बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । हाल आएर संक्रमित थपिनेक्रम पनि निकै कम भएको जनाउँदै विहिबार जिल्लामा ३ जना संक्रमित थपिएकोमा सबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
भेरी अस्पतालमा २०७७ साल भदौ ३१ देखि कोभिडका विरामीहरुको उपचार सुरु गरिएको थियो । त्योभन्दा अघि खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका विरामी भर्ना गरेर उपचार गर्ने गरिएको थियो । २०७७ बैशाख १९ गते पहिलो संक्रमित खजुरा अस्पतालले भर्ना गरेको थियो ।
भेरी अस्पतालबाट चिकित्सकहरु पुगेर खजुरामा राखिएका बिरामीको उपचार र परामर्श गर्नेगरेका थिए । चिकित्सकलाई आउजाउमा समस्या पर्ने स्थिति आएपछि खजुराको क्यान्सर अस्पतालमा रहेको कोभिड अस्पताल भेरीमा सारिएको थियो ।
अस्पतालमा बिरामीको संख्या शुन्यमा पुग्न लागे पनि ओमिक्रोनको त्रास रहेकाले सचेत रहनुपर्ने चिकित्सकले जनाएका छन् । मास्क लगाउने, सामाजिक दूरी पालना गर्ने, सरसफाईमा ध्यान दिने, सेनिटाइजरको प्रयोग गर्ने कुरालाई निरन्तरता दिनुपर्ने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सहनिर्देशक डा रोमन किदवाईले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *