१३ बैशाख २०८१, बिहीबार

राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

राप्ती नदीले खतराको तह पार गरेपछि तटीय क्षेत्रमा खतराको साइरन बजाइयो

सिराज खान
नेपालगञ्ज, असोज १ । लगातारको वर्षाकाकारण राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेपछि बाँकेको तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ ।
कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जल सतह खतराको विन्दु ५ मिटर ७० सेन्टिमिटर पार गरिसकेकोले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
शनिवार बिहान साढे ८ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७० सेन्टिमिटर पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार, बाँके दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीले खतराको विन्दु पार गरेको हो । शनिवार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको थियो । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन साइरन बजाएर आग्रह गरिएको छ ।
सूचना अधिकृत ज्ञवालीले पानीको सतह खतराभन्दा माथि पुगेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आई पुग्न करिब ४ देखी ५ घण्टा समय लाग्ने अनुमान गरिन्छ । कुसुममा पानीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने बित्तिकै खतरा स्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ५० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने सम्भावना बढेर जान्छ ।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् । नदीको सतह बढेर ५.७० मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरूमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले बताउनुभयो ।
उहाँले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ खत्रीले बताउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *