१३ बैशाख २०८१, बिहीबार

सत्ता गठबन्धन भत्काउने सपना नदेखे हुन्छ–माधव नेपाल

सत्ता गठबन्धन भत्काउने सपना नदेखे हुन्छ–माधव नेपाल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनका दलबीच सहमति गरेर मात्र एमसीसीको भविष्य निर्धारण गरिने बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका ५ दलका बीचमा छलफल शुरु भैसकेको बताउनुभयो । नेपालको हितमा छ भने कुनै पनि सहयोग स्वीकार्य र नेपालको हितमा छैन भने त्यस्तो सहयोग स्वीकार्य नहुने आफ्नो अडान रहेको उहाँले बताउनुभयो । त्यहाँ लेखिएका कुरामा कहीँ कमजोरी छन् भने त्यसमा सुधार ल्याउनु आवश्यक रहेको पनि नेता नेपालले बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन फुटाएमा एमसीसीमा समर्थन जनाउने अभिव्यक्तिलाई लक्षित गर्दै उहाँले सत्तागठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जनाउँदै गठबन्धन भत्काउने सपना देख्नेहरु सपनामै रमाउने बताउनुभयो ।
‘अहिले फेरि फुर्ती देखाइरहेका छन् कि एमसीसीलाई लिइकन यो गठबन्धन तोड्नु पर्छ । गठबन्धन तोड्ने हो भने एमसीसीमा हाम्रो समर्थन हुन्छ भन्ने समाचार आइरहेका छन् । भनेपछि केपीको पार्टी प्राइभेट कम्पनीको विचार के हो ? एमसीसीलाई हेर्ने दृष्टिकोण के हो ?’, उहाँको भनाइ थियो, ‘अहिलेको राजनीतिक जटिल परिस्थितिमा केही पार्टी सत्तागठबन्धनमा खेल्न चाहिरहेका छन् । लडाउन र बल्झाउन चाहिरहेका छन् । त्यसको फाइदा उठाउन खोजिरहेका छन् । हामी त्यो चालबाजीलाई सफल हुन दिने छैनौं’,
उहाँले यथास्थितिमा एमसीसी पास नहुने पनि प्रष्ट पार्नुभयो । ‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुँदैनौं । हामी कसैको पनि सुरक्षा घेरामा बस्न चाहँदैनौं । हाम्रो देशको स्वाभिमानलाई, सार्वभौमसत्ता र सार्वभौम अधिकारलाई कुष्ठित हुन दिने पक्षमा छैनौं । हामी कुनै पनि अनुचित शर्त आर्थिक सहयोगको नाममा लिने पक्षमा छैनौं । हामी छिमेकीहरुमाथि कुनै पनि किसिमको सैन्य खतरा मडारिने त्यस्तो स्थिति पैदा गर्ने पक्षमा छैनौं ।’
सो कार्यक्रमा सहरी विकास मन्त्री राम कुमारी झाक्री, अनेरास्ववियुका केन्द्रिय अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा र नेताहरु मेटमणी चौधरी तथा दल बहादुर सुनार लगायतले पनि आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *