नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । नेपालगन्ज रंगशालामा रहेको भारोत्तोलन भवन भित्रका शौचालय र बाथरुम मर्मत तथा निर्माण र खेल प्रशिक्षणका लागि उपकरण खरिद गर्न नेपाली सेनाका प्रमुख सेनानी जनमत बहादुर कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपियाँको सहयोग गर्नुभएको छ ।
नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति समेत रहनु भएका प्रमुख सेनानी कार्कीले भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मत तथा निर्माणका लागि तीन लाख रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको र खेल उपकरणका लागि दुई लाखको थप सहयोग गर्नु हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताउनुभयो ।
शौचालय र बाथरुममा सावर, धाराका टुटी लगायत आवश्यक पर्ने सामग्री नहुँदा खेलाडीलाई समस्या भएको महशुस गरेपछि प्रमुख सेनानी कार्कीले आफ्नो ब्यक्तिगत लगानीमा सो सामग्री खरिद गरि प्रदान गर्नुभएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
रकम अभावमा शौचालय र बाथरुम निर्माणको काम अपुरो रहेकोमा कार्कीले सामग्री प्रदान गरेपछि मर्मत तथा निर्माणको काम सुरु भएको बताईएको छ ।
प्रमुख सेनानी कार्कीले भारोत्तोलन प्रशिक्षणका लागि अपुग सामग्री पनि उपलब्ध गराउनु हुने पनि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय प्रमुख चन्दले बताउनुभयो ।
त्यसका लागि करिब दुई लाख रुपियाँ पर्ने खेल सामग्री र उपकरण प्रमुख सेनानी कार्कीले प्रदान गर्नु हुने भएको छ ।
यसैगरि प्रमुख सेनानी कार्की र जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनखरले फुटवल मैदानका लागि चार वटा बत्ती पनि दिनु हुने जनाईएको छ । रातको बेला समेत फुटवल खेल्न सकिने गरि उज्यालो हुने बत्तीको ब्यवस्था सोनखर र कार्कीले गर्न लागेको पनि चन्दले जानकारी दिनुभयो । उहाँले उक्त चार वटा बत्ती जडान गर्न करिब दुई लाख खर्च लाग्ने बताउनुभयो ।
प्रमुख सेनानी कार्कीले नेपालगन्ज रंगशालालाई यसअघि घाँस काट्ने मेसिन दिइसक्नु भएको छ । सो मेसिनबाट नेपालगन्ज रंगशालामा उम्रिएको झार तथा फोहर सफाई गर्न सहयोग पुगिरहेको छ । सेनाका अधिकारीको सो सहयोगबाट बाँकेका खेलाडी निकै उत्साहत बनेका छन् ।

