नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
बाँकेमा यस पटक संस्थापन समुहको अवस्था निकै सुदृढ रहेकोले संस्थापन समुहकै सभापति विजयी हुने संभावना देखिएको काँग्रेसका नेता कार्यकर्ताले जनाएका छन् । निर्वाचन स्थगित भएपछि कोइराला पौडेल समुहले निर्वाचन तयारीको समय पाएको छ भने संस्थापन समुहमा सभापतिका आकांक्षी धेरै रहेकाले उनिहरुले मिलाउने समय पाएका छन् ।
निर्वाचन स्थगित भएकोले अब सभापतिका आकांक्षीलाई मिलाएर अगाडी लैजान सहज हुने संस्थापन समुहका एक नेताले बताए । उनले आफ्नो समुह जिललामा निकै बलियो भएपनि समुहबाट एक भन्दा बढी उम्मेदवार भएमा कोइराला पौडेल समुहका उम्मेदवारले बाजी मार्ने आशंका समेत रहेको बताए ।
हालका लागि सो निर्वाचन स्थगित भएपनि अब कहिले हुने भन्ने बारेमा अन्यौल रहेको छ । केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार बाँके जिल्लाको निर्वाचन पछि गरिने निर्वाचन समितिले जनाएको छ ।
उता, बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत यही मंसिर १३ गतेका दिन उम्मेदवारी मनोनयन तथा मिति मंसिर १४ गतेका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान र मत गणना सम्पन्न हुन नसकेमा प्रदेशस्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेशसभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकोले केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन÷निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको जनाईएको छ ।
निर्वाचन स्थगित गर्ने निर्णय गरेको उक्त बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह–संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1