समाचारदाता
नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो ।
अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ ।
फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही तीन तीन हजारका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिनुभयो।
उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने सो अवसरमा बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी गराउनुभयो । टिम दर्ता गर्नका लागि खेलकुद उपसमितिका संयोजक वसन्त मल्ललाई ९८५८०२५६२७ मा सम्पर्क गर्न सकिने पनि बताइएको छ ।
जनयुद्ध दिवसको अवसरमा पहिलो पटक यति ठुलो राशिको प्रतियोगिता आयोजना गर्न लागिएको जनाउँदै अध्यक्ष शाहीले पुरस्कार राशीका लागि आफ्ना सदस्य र पदाधिकारीबाट रकम संकलन गरिने र स्वेच्छाले सहयोग गर्न चाहनेलाई सहयोग गर्न आग्रह पनि गरिने जनाउनुभयो ।
जनयुद्ध दिवस मनाउनका लागि नेपालगन्ज उपमहानगर कमिटिका अध्यक्ष शाहीको संयोजकत्वमा ८१ सदस्यीय मुल आयोजक कमिटिसंगै विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।