समाचारदाता
नेपालगन्ज, पुस ६ । भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले नेपालगन्जमा आयोजना गरेको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकमा सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि अपनाउनु पर्ने बिभिन्न उपायहरुका बारेमा बिस्तृत रुपमा छलफल गरिएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले जिल्लाका तीनवटा पालिकामा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो बैठकको आयोजना गरिएको हो ।
बैठकमा सरसफाईकर्मीहरुको स्वास्थ्य बीमा वा सामाजिक सुरक्षामा आवद्धता, सरसफाईकर्मी र कृषकहरुको पेशागत स्वास्थ्यका लागि व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था, नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापनका लागि नगरभित्र डस्टबीनको व्यवस्था र स्थानीय स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क केन्द्र बनाउने बारेमा सहभागिहरुबिच छलफल भएको थियो ।
सो बैठकमा नेपालगन्ज उपमहानगरका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले स्वास्थ्य बीमाको सेवा प्रवाहमा देखिएका समस्याहरु प्रस्तुत गर्दै ती समस्यालाई समाधान गर्न भेरी अस्पताल र स्वास्थ्य बीमा बोर्डको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले नेपालगन्ज उपमहानगरले पनि सरसफाईकर्मी र किसानको स्वास्थ्य जोखिमलाई ध्यान दिएर बजेटको व्यवस्था गर्न सोही अवसरमा सुझाव पनि दिनुभयो ।
वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रकाश डिसीले सरसफाईकर्मी र किसानको पेशागत जोखिमलाई ध्यानमा राखेर निजि कम्पनीहरुले पनि उनिहरुको स्वास्थ्यलाई सुनिश्चित गर्न व्यक्तिगत सुरक्षा सामाग्री सहित स्वास्थ्य बीमा प्रदान गर्न अनुरोध गर्नुभयो ।
सोही अवसरमा नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्दले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क केन्द्र बनाउन बीमा बोर्डले तोकेका १३ बुँदे न्यूनतम सेवा मापदण्ड अन्तर्गतका स्रोत, पूर्वाधार र मानव संशाधनको व्यवस्था पालिकाले गर्न सके मात्रै संभव हुने बताउनुभयो ।
यसैगरि नेपालगन्ज १२ का वडा अध्यक्ष तरुण बज्राचार्यले पनि सरसफाईकर्मीको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री र स्वास्थ्य बीमा अति आवश्यक रहेको जनाउँदै स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई बीमाको पहिलो सम्पर्क केन्द्र बनाउनु पर्ने धारणा राख्नुभयो ।
सो बैठकमा बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । परियोजनामा हाल जिल्लाका तीनवटा पालिकाका १५ सय किसान र ५०० सरसफाईकर्मीलाई समेटिएको बी ग्रुपले जनाएको छ ।