समाचारदाता
नेपालगन्ज, पुस १० । भेरी वातावरणिय विशिष्टता समूह बी–ग्रुप र खजुरा गाउँपालिकाको संयुक्त आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
एएफडी र एमडिएम फ्रान्सको सहयोगमा बी–ग्रुपले बाँकेमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ को सहयोगमा खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुका लागि प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धन गर्न सचेतना कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले सो कार्यक्रममा किसानले उत्पादन गरेको तरकारीको परीक्षण गर्दा विषादी नभएको अर्गानिक तरकारी रहेको रिपोर्ट आएको पनि बताउनुभयो ।
कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्यहरुले एकीकृत शत्रुजीव ब्यवस्थापन प्रविधिबाट उत्पादन गरिएको अर्गानिक तरकारी समेत राखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का सञ्चार तथा पैरवी अधिकृत सुमित्रा गिरीले बताउनुभयो ।
उहाँले सो सचेतना कार्यक्रममा ५०० बढी किसानको सहभागिता रहेको जनाउनुभयो ।
अस्टम सहकारी संस्थासंग आवद्ध किसानहरुलाई प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका लागि प्रविधिमा सहयोग गर्ने र सदस्यहरु मध्येका ५० जना गरिब तथा बिपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम रहेको खजुरा गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष धनराम ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत खजुरा वडा नम्बर दुईका कृषकहरुलाई प्राङ्गारिक तरकारी उत्पादन गर्न र स्वस्थ्य जिवनयापनको लागी उत्प्रेरित गर्न कार्यक्रमले सहयोग गरिरहेको छ भने प्रविधि र कृषकको स्वास्थ्यको लागी पनि विभिन्न काम गरिरहेको छ ।
सो कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता धनराम ओली, एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापा, बि ग्रुपका अध्यक्ष डा. इन्द्र भण्डारी लगायतले प्राङ्गारिक तरकारी उत्पादन प्रवर्धनका बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा पालिकाको कृषि शाखा, स्वास्थ्य शाखा लगायत विभिन्न शाखाका प्रतिनिधि, सहकारीका पदाधिकारी लगायत सदस्यहरुको ठुलो संख्यामा उपस्थिति थियो ।
प्राङ्गारिक तरकारी उत्पादनकै बिषयलाई लिएर आयोजना गरिएको वक्तृत्वकलामा सहभागि भएकाहरुलाई पनि सोही अवसरमा प्र्रमाणपत्र वितरण गरिएको जनाईएको छ ।