२५ मंसिर २०८२, बुधबार

तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

तस्करी घट्दा नेपालगन्ज नाकाबाट चिनी र चामलको आयातमा अत्यधिक बृद्धि

सिराज खान
नेपालगन्ज, असार २३ गते । लामो समयदेखि चिनी र चामलको अवैध आयात र तस्करी ठुलो परिमाणमा हुँदै आएको यहाँस्थित जमुनाहा नाकाबाट पछिल्लो समयमा सो तस्करी केही हदसम्म घटेको पाईएको छ ।
सोही कारणले गत केही वर्ष यता यो नाकाबाट घट्दै गएको चिनी र चामलको आयात चालु आर्थिक वर्षबाट फेरी ठुलो परिमाणमा बृद्धि भएको हो ।
चिनी र चामलको आयात यसरी अत्यधिक बढ्नुमा अवैध आयात र तस्करी कम हुनुनै मुख्य कारण रहेको व्यवसायीहरुलेनै बताएका छन् । चालु आवमा तस्करी र अवैध आयातमा कडाई गरिएकोले नै वैध आयात बृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले अवैध आयात बढेपछि वैध आयात घट्ने गरेको जनाउँदै अहिले चिनी र चामलको वैध आयात बढ्नुको अर्थ अवैध आयात घटेको नै मान्नुपर्ने बताउनुभयो । उहाँले त्यसका साथसाथै माग र खपत बढ्दा पनि आयात बृद्धि हुने गरेको बताउनुभयो ।


संघको आग्रहमा प्रहरी प्रशासनले नाकामा कडाई र निगरानी बढाउँदै गएपछि अवैध आयात घटेर नै वैध आयात बृद्धि भएको नेपालगन्जका स्थानीय व्यवसायी अशोक गुप्ताले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनाको अवधीमा नेपालगन्ज नाकाबाट चिनी र चामल अत्यधिक आयात हुने वस्तुहरुमा परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । गत वर्ष सबैभन्दा धेरै घटेको चिनीको आयात भने चालु आवको ११ महिनामा अत्यधिक बृद्धि भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०–०८१ को ११ महिनाको अवधीमा १ करोड २ लाख ६४ हजार रुपियाँको दुई लाख १४ हजार ६४५ किलो चिनी मात्र आयात भएकोमा चालु आवको सोही अवधीमा अत्यधिक बृद्धि भई ४४ करोड ८८ लाख ९१ हजार रुपियाँको ६४ लाख २२ हजार ६० किलो चिनी आयात भएको छ ।


गत आवको ११ महिनामा चिनी आयातबाट ४८ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन भएकोमा चालु आवको सोही अवधीमा २१ करोड ५ लाख ९९ हजार रुपियाँ राजस्व संकलन भएको छ । चिनीको राजस्व संकलनमा चालु आवमा २० करोड भन्दा बढी बृद्धि भएको हो ।
सोही प्रकारले चामल आयातमा पनि गत आवको तुलनामा दोब्बर भन्दा बढी बृद्धि भएको छ । गत आवको ११ महिनामा तीन करोड २२ लाख ५० हजार ६५५ किलो चामल आयात भएकोमा चालु आवको सोही अवधीमा ६ करोड ५२ लाख ५६ हजार ९५५ किलो चामल आयात भएको हो । गत आवको ११ महिनामा तीन अर्ब ९३ करोड ८२ लाख ३६ हजार रुपियाँको चामल आयात भएकोमा चालु आवको सोही अवधीमा पाँच अर्ब ७२ करोड १७ लाख ९२ हजारको चामल आयात भएको छ ।


चामल आयातबाट गत आवको सो अवधीमा ४५ करोड १६ लाख १७ हजार रुपियाँ राजस्व संकलन भएकोमा चालु आवको सोही अवधीमा ४६ प्रतिशत भन्दा बढी बृद्धि भई ६६ करोड १५ लाख ३ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *