समाचारदाता
नेपालगन्ज, कात्तिक २९ गते । बाँसगढी नगरपालिकाको शिक्षा शाखाले विद्यालय–सम्बन्धी लैङ्गिक हिंसा रोकथाम तथा व्यवस्थापन बारेको एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । सो कार्यक्रम युनेस्को काठमाडौंको साझेदारी र बाँके युनेस्को क्लबको सहयोगमा आयोजना गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनन्दन थारूले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बासगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्काले विद्यालयहरूमा सुरक्षित, सम्मानजनक र लैङ्गिक–अनुकूल वातावरण निर्माण गर्न यस पहलले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
उहाँले यस्ता अन्तरक्रियाले लैंगिक हिंसा अन्त्यगर्न सहभागिहरुलाई प्रेरित गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मी, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, विभिन्न विद्यालयका प्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
कार्यक्रमका क्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका प्रतिनिधि जितराम थारूले सेफ स्कुल सेल्फ असिस्मेन्ट फार्म प्रस्तुत गरी सहभागी विद्यालयहरूलाई वितरण गर्नुभयो ।
अन्तरक्रियाको मुख्य उद्देश्य विद्यालय–सम्बन्धी लैङ्गिकहिंसा रोकथाम तथा व्यवस्थापनप्रति साझा बुझाइ विकास गर्ने, सरोकारवालाबीच समन्वय सुदृढ गर्ने र आगामी मंसिर १२ गते आयोजना हुने सडक नाटक, कविता वाचन तथा कला प्रदर्शनीकालागि प्रभावकारी तयारी सुनिश्चित गर्नु थियो ।

कार्यक्रममा बासगढी नगरपालिका भित्रका सबै निजी तथा सामुदायिक माध्यमिक विद्यालयहरूले आगामी कार्यक्रममा सक्रिय सहभागिता जनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमले नगरभित्र सुरक्षित, सम्मानजनक र बालमैत्री विद्यालय वातावरण निर्माण गर्न सबै पक्षबीचको सहकार्य, सामूहिक प्रतिबद्धता र सकारात्मक ऊर्जा अझ मजबुत बनाएको निष्कर्ष निकालिएको थियो ।
