सोफिया स्कुल दक्ष र अनुशासित जनशक्ति उत्पादन केन्द्र हो–पुर्व मन्त्री राई
समाचारदाता
नेपालगन्ज, पुस ८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औँ वार्षिक दिवस तथा ख्रीष्टमस उत्सव कार्यक्रम भव्यरुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले सोफिया स्कुलले देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाउँदै यहाँ पढेका बिद्यार्थिहरुमा एक बिशेष प्रकारको अनुशासन, लगनशिलता र सेवाको भावना देखिएको बताउनुभयो ।

उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो ।
पूर्वमन्त्री राईले विद्यालयको शान्त वातावरण, रचनात्मक तथा सृजनशील गतिविधिले विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सकारात्मक प्रभाव पारेको बताउँदै आफू पनि यस विद्यालयको अभिभावक भएकोले नजिकबाट विद्यालयलाई बुझ्ने अवसर पाएको र विद्यालयप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले आफु मन्त्री र सांसद हुँदा नेपालगन्जको शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासका क्षेत्रमा विभिन्न योजना निर्माण गरी बजेट व्यवस्था गरिएको र ती योजनाहरू क्रमशः सम्पन्न हुँदै गएकोले खुशी लागेको बताउँदै फेरी पनि केही गर्ने ठाउँमा पुगे शिक्षा स्वास्थ्य र पूर्वाधार विकासका लागि निरन्तर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा सोफिया स्कुलकी सिईओ सुशिला बसेलले विद्यालयले व्यवस्थापन, अनुशासन तथा नैतिक शिक्षामा विशेष ध्यान दिँदै आएको बताउनुभयो । उहाँले नियमित नैतिक तथा अनुशासन सम्बन्धी शिक्षाका कारण विद्यार्थीहरू लगनशील र अनुशासित भएको उल्लेख गर्दै विद्यालय परिवार त्यसमा गर्व महसुस गरिरहेको बताउनुभयो ।
उहाँले प्रतिकुल मौसमका बावजुद पनि कार्यक्रममा विद्यार्थीहरूले सबै प्रस्तुति सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । समावेशीतालाई ध्यानमा राख्दै अंग्रेजी, अवधी र नेपाली भाषामा विद्यार्थीहरूमार्फत नै कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
वार्षिक दिवसका अवसरमा विद्यार्थीहरूले नृत्य, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई निकै खुसी तुल्याएको थियो ।

कार्यक्रममा क्रियाशिल महिला पत्रकार संघ बाँकेका अध्यक्ष सावित्री गिरिले हरेक असफलता नयाँ सिकाइको अवसर हुने उल्लेख गर्दै विद्यालयको वातावरणले विद्यार्थीहरूको सृजनशीलता उजागर गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले देखाइरहेको प्रतिभा अनुकरणीय रहेको भन्दै सही विद्यालय छनोट गरेकोमा आफू खुशी रहेको धारणा व्यक्त गर्नुभयो ।

यस्तै, अभिभावक सूर्यप्रसाद धितालले यस विद्यालयबाट अध्ययन गरेका आफ्ना छोराहरूले गुणस्तरीय र व्यवहारिक शिक्षा हासिल गरी इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गर्न सफल भएको बताउँदै विद्यालयले बलियो शैक्षिक आधार तयार गरिदिएकाले उच्च शिक्षा हासिल गर्न सहज भएको उल्लेख गर्नुभयो र विद्यालयप्रति बिशेष धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.बी. बस्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सो अवसरमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकृत उद्धव श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग दाङका प्रमुख उपनिर्देशक ओम खड्का, बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा वरिष्ठ पत्रकार डा.डक्ट प्रसाद धिताल, पत्रकारहरु निरज गौतम, झलक गैरे, शंकर खनाल, गजेन्द्र गुरुंग, आलम खान, सन्तोष बिष्ट र दिपेन्द्र धिताल लगायतको पनि उपस्थिति रहेको थियो ।
