समाचारदाता
नेपालगन्ज, फागुन १४ । नेपाली कम्युनिष्ट पार्टीबाट बाँके २ का उम्मेदवार दिपेन्द्र विष्टको मतदाता भेटघाट र घरदैलो तिव्र रुपमा जारी छ । विहिबार उहाँले नेपालगन्ज २२ किंगरियन पुरवा पुगेर त्यहाँका विपन्न र आर्थिक रुपमा निकै पछाडी परेको समुदाय किंगरियनहरुको घरमा बसेर उनिहरुको दुख पिडा र समस्या बुझ्ने प्रयास गर्नु भएको छ । उहाँ अतिनै पिछडिएको सो बस्तीमा पुग्दा मतदातामा एउटा अनौठो उत्साह उत्पन्न भएको थियो ।

बर्षौदेखि शिक्षा र स्वास्थ्यसंगै विकास र आर्थिक रुपमा पनि पछाडी परेका किंगरियनपुरवाका स्थानीयले निर्वाचनको बेला मत माग्न आउने तर जितेर गएपछि फेरी फर्केर नआउने प्रवृतिका कारण आफुहरु सधैं पछाडी परेको गुनासो गरे । उनिहरुले गाउँबस्तीको अवस्था घर परिवारको अवस्था र बालबालिकाको अवस्था बारे स्थलगत रुपमै विष्टलाई लगेर देखाए अनि बुझाए ।

गाउँलेहरुको कुरा सुनेर उम्मेदवार विष्टले आफु अरु उम्मेदवार र नेता जस्तो नभएको बताउँदै आफुले भनेको र प्रतिवद्धता गरेको कुरा जसरी पनि पुरा गर्ने बताए । उनले आफु नेता बन्न नआएको जनाउँदै सेवा गर्न आएको र जिते पनि हारेपनि आफु फेरी फर्केर जनताको घर आँगनमा आउने र जनताका समस्या सरकारसम्म पुरयाउने प्रतिवद्धता जनाए ।

विष्टका कुरा सुनेर सो गाउँका अधिकांश स्थानीय भावुक बनेका थिए । उनिहरुले आफुहरु बर्षौदेखि ठगिंदै आएको र पछाडी पारिंदै आएको जनाउँदै यस पटक मत र नेता फेर्ने निष्कर्शमा पुगेको सुनाएका थिए ।
