बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न

समाचारदाता
बर्दिया, बारबर्दिया, साउन २४ । बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूकालागि प्रारम्भिक पहिचान तथा विविध शैक्षिक आवश्यकतासम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
बालबालिका, किशोरकिशोरी तथा युवाका लागि प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको कन्सोर्टियममार्फत कार्यान्वयन भइरहेको सेफ फ्युचर परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न भएको हो ।
बारबर्दिया नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई समेट्दै ३८ जना प्रधानाध्यापकहरु सहभागी भएको सो कार्यक्रममा प्रारम्भिक पहिचान, बालबालिकाको सिकाइ तथा विकाससम्बन्धी आवश्यकता समयमै पहिचान गर्ने र विद्यालयस्तरमा आवश्यक सहयोग तथा सहजीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो ।


कार्यक्रममा नगरपालिकाका शतप्रतिशत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार सो अभिमुखीकरणको मुख्य उद्देश्य विद्यालय नेतृत्वको प्रारम्भिक पहिचानसम्बन्धी ज्ञान, बुझाइ र क्षमता अभिवृद्धि गर्नुका साथै बालबालिकाका विविध सिकाइ आवश्यकताहरू पहिचान गर्ने, सिकाइमा हुन सक्ने अवरोधहरूलाई प्रारम्भिक चरणमै पहिचान गर्ने तथा विद्यालयमा समावेशी, बालकेन्द्रित, सुरक्षित र बालमैत्री शैक्षिक अभ्यास प्रवद्र्धन गर्नु रहेको थियो ।


कार्यक्रममा बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुख कृष्णकुमार थारु तथा प्लान इन्टरनेशनल नेपालकी शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गर्नुभएको थियो ।
सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिताले कार्यक्रमलाई बालबालिकाको आवश्यकता समयमै पहिचान, शैक्षिक सहयोगको प्रभावकारी व्यवस्था तथा समावेशी शिक्षाको प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।
उक्त अभिमुखीकरण कार्यक्रमले शिक्षक तथा विद्यालय नेतृत्वलाई बालबालिकाको सिकाइ र विकाससम्बन्धी आवश्यकता प्रारम्भिक चरणमै पहिचान गरी उपयुक्त सहयोग प्रदान गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।


बालबालिकाको आवश्यकता समयमै पहिचान र सम्बोधन गर्न सक्ने विद्यालय निर्माण गर्दै हरेक बालबालिकालाई पहिचान, सम्मान, आवश्यक सहयोग र आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर सुनिश्चित गर्ने दिशामा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास कार्यक्रमका सहभागिहरुले व्यक्त गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *