६ चैत्र २०८१, बिहीबार

बाँकेमा अम्बे समुहको एक अर्ब २५ करोडको बिलेट उद्योग सञ्चालनमा आउँदै

बाँकेमा अम्बे समुहको एक अर्ब २५ करोडको बिलेट उद्योग सञ्चालनमा आउँदै

सिराज खान
नेपालगञ्ज, कात्तिक १८ गते । अम्बे समूहले बाँकेमा एक अर्ब २५ करोडको लगानीमा आफ्नै बिलेट उद्योग सञ्चालनमा ल्याउन थालेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको गनापुरमा आगामी तीन महिनाभित्र सो उद्योग सञ्चालन गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अम्बे समूहको बाँकेस्थित उद्योगका व्यवस्थापक अनुज श्रेष्ठले बताउनुभयो ।
दुई वर्ष अघि तीन अर्ब रुपियाँको लगानीमा गनापुरमै सो समूहले जय अम्बे डन्डी उद्योग सञ्चालनमा ल्याएको थियो ।
१६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको जनाउँदै सो उद्योग सञ्चालनमा आएपछि भारतबाट आयात गरिने बिलेटको आयात बन्द हुने व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
विलेट उद्योग स्थापनाको प्रक्रिया थालेको १० महिना भइसकेको जनाउँदै उहाँले ढिलोमा तीन महिनाभित्र बिलेट उत्पादन शुरु गरिने तयारी रहेको बताउनुभयो ।


यो उद्योगबाट दैनिक ७५० टन बिलेट उत्पादन हुने सो उद्योगले जनाएको छ । व्यवस्थापक श्रेष्ठका अनुसार उद्योगभित्र २५ टनका तीन वटा युनिट हुनेछ । यो युनिटबाट दैनिक साढे सात सय डन्डी उत्पादन हुने जनाउँदै उहाँले उत्पादन भएको बिलेट आफ्नै उद्योगमा प्रयोग गर्ने बताउनुभयो ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनको भन्सार शुन्यमा झार्दै विलेट आयातको अन्तशुल्क बढाएको थियो । सरकारी नीतिपछि उद्योगबाट उत्पादित विलेट विक्री समेत गर्ने उहाँले जानकारी दिनुभयो । सुरुमा आफ्नो लागि मात्रै भनेर उद्योग स्थापना गरेको जनाउँदै व्यवस्थापक श्रेष्ठले तर अहिले सरकारको नीतिले स्वदेशी उद्योगले समेत विलेट किन्न सक्ने अवस्था देखिएकोले झन उत्साहित भएको बताउनुभयो ।
‘अब कसैले हामीबाट बिलेट किन्छ भने हामीले बनाएर विक्री समेत गर्नेछौं’–उहाँले भन्नुभयो । अम्बे स्टिल उद्योगबाट उत्पादित विलेट गुणस्तरमा भारतीयभन्दा कम नहुने दावी पनि सो उद्योगले गरेको छ ।
हाल सञ्चालनमा रहेको अम्बे समूहको छड उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गरिरहेको छ । उद्योगका अनुसार ४० एमएमको छडहरु जलबिद्युत आयोजना पूर्वाधार निर्माणको काममा प्रयोग हुन्छन् ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको बजारलाई लक्षित गरेर बाँकेमा सो छड उद्योग सञ्चालनमा ल्याईएको हो । अम्बे समूहको यो दोस्रो छड उद्योग हो । भैरहवाबाट यसअघि नै अम्बे ब्राण्डका छडहरु उत्पादन गरेर विक्री भैरहेको छ । ( गोरखापत्र अनलाइनबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *