नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १८ कात्तिक । बेमौसमको वर्षाले गर्दा आएको बाढीबाट अत्याधिक प्रभावित भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ का २५ जना महिलाले लक्ष्मीपुजाकै दिन विहिबार डिगनिटी किट पाएका छन् ।
बाँके युनेस्को क्लबले स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत बाढीबाट अति प्रभावित ती महिलाले राहात स्वरुप डिगनिटी किट पाएका हुन् ।
वडा नम्बर १ मा आयोजित एक कार्यक्रममा सो वडाका वडा अध्यक्ष खुशीराम थारु, बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशक रवि तुलाधर लगायतले उक्त किट प्रभावितलाई वितरण गर्नुभयो ।
वितरण गरिएको डिगनिटी किट व्यागमा स्यानटरी कपडा ४ पिस, तल्लो भित्रि वस्त्र २ वटा, म्याक्सी १, टी शर्ट १, धोती सारी १, स्वेटर १, ऊनी सल १, तौलिया १, टर्च लाईट १, लुगा धुने साबुन १, काइयो १, नेलकटर १, दाँत माझ्ने ब्रस १, मन्जन १, हात धुने साबुन १, स्यानिटाइजर १, सर्जिकल मास्क १० पिस र सिट्टी १ रहेको छ ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष थारुले बेमौसममा परेको पानीले गर्दा आएको बाढीबाट अति प्रभावित भएकालाई क्लबले गरेको सहयोगबाट धेरै राहात मिल्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै बरघर हयीराम चौधरीले बाढीले धेरै क्षति पुरयाएको जनाउँदै पिडितका लागि गरिएको यो सहयोगले केही भएपनि मलहम लगाउने बताउनुभयो ।
सो परियोजना अन्तर्गत राजापुरको वडा नम्बर १ र ३ तथा गेरुवा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बाढी प्रभावितलाई विभिन्न प्रकारका राहात वितरण गरिने बाँके युनेस्को क्लबका मुख्य संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार सो क्रममा २०० परिवारलाई विउ वितरण, १५५ महिलालाई डिगनिटि किट, सय परिवारलाई हाइजिन किट, ५० वटा चर्पिहरुको मरम्मत, १५० हैन्ड पम्पको निर्मलीकरण, ८० परिवारलाई खाद्यान्न वितरण तथा २५ गर्भवति महिलालाई पोषण आहार वितरण गरिने छ ।