सिराज खान
नेपालगञ्ज, २१ कात्तिक । कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको र खुलेपछि पनि सुनसान रहेको नेपालगञ्जको बागेश्वरी क्युएफएक्स सिनेमा हलमा अहिले प्राय हरेक शो हाउसफुल चलिरहेको छ ।
कोरोनाले थलिएको नेपालगञ्जको सो सिनेमा हललाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले चलायमान मात्र बनाएन, हाउसफुलसम्म पुरयाएको छ । लामो समयपछि सिनेमा हल हाउसफुल भएपछि क्युएफएक्स को व्यवस्थापन उत्साहित देखिएको छ ।
कोरोनाको दोस्रो लहरपछि गत असोज महिनाको अन्तिमबाट सिनेमाहल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् ।
तर गत शुक्रबारबाट ‘सूर्यवंशी’ चलचित्र प्रदर्शनमा आएपछि हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति अतिनै राम्रो र उत्साहजनक देखिएको बागेश्वरी क्युएफएक्सका शाक्यले बताउनुभयो ।
उहाँले शुक्रवारदेखिनै हलमा दर्शकको चाप देखिएकोले प्रायजसो सबै शो हाउसफुल गएको बताउनुभयो । यो सिनेमाले दर्शकलाई तान्न सफल भएपछि अब सो क्रमले निरन्तरता पाउने विश्वास समेत शाक्यको छ ।
रोहित सेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’ मा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।