नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपीजी ग्याँसमा गरिएको चरम मूल्यवृद्धि विरुद्ध आन्दोलन शुरु गरेको छ । सोही क्रममा उक्त पार्टीको बाँके जिल्ला संगठनले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ ।
पार्टीको बाँके जिल्ला सङ्गठन समितिले सरकारले पेट्रोलियम पदार्थमा गरेको चरम मूल्यवृद्धि विरुद्ध जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
“पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धी फिर्ता गर, जनता लुट्न पाइँदैन, वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं”, लगायतका नारा सहितको विरोध जुलुसले नेपालगञ्जको विपिचोकमा गएर सभामा परिणत भएको थियो ।
उक्त सभालाई युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य विष्णु जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज डिबी शाही, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य दीपक बुढा, अखिल क्रान्तिकारी बाँके जिल्लाका अध्यक्ष डिल्ली क्षेत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।
विरोध सभामा सम्बोधन गर्ने नेताहरूले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक पेट्रोलियम तथा खाद्यवस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्नुले जनता कंगाल हुने स्थिति सिर्जना भएकोप्रति आक्रोश व्यक्त गरेका थिए ।
उनिहरूले विभिन्न बाहानामा दैनिकजसो गरिने मूल्यवृद्धिले गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मुल्यवृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेहेरी सिर्जना गर्ने चेतावनी दिए ।
जनतामाथि गरिने आर्थिक दोहनलाई टुलुटुलु हेरेर आफ्नो पार्टी नबस्ने बताउँदै उनिहरूले मुल्यवृद्धि खारेज नहुँदासम्म आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उद्घोष गरका छन् ।
सो पार्टीले कात्तिक ३० गते नेपाल बन्दको पनि घोषणा गरेको छ । यसअघि चक्काजाम, राँके जुलुस र अन्य प्रकारका विभिन्न विरोधका कार्यक्रम जारी रहने सो दलले जनाएको छ ।
नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुने गरेर पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । जसको चौतर्फी रुपमा विरोध भइरहेको छ ।