दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु
सिराज खान
नेपालगञ्ज, मंसिर ५ । पछिल्लो समयमा आएर कोरोना संक्रमण निकै घट्दै गएको पाईएपनि जोखिम र खतरा अझै पुर्ण रुपमा नटरेको स्वास्थ्यकर्मीले जनाएका छन् । चिसो मौसम शुरु भैसकेको र कोरोना विरुद्धको सावधानी समेत निकै कम भैसकेकोले अझै पनि सो रोगबाट हानी हुने जोखिम र खतरा कायमै रहेको भेरी अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
उहाँले केही दिनयता संक्रमित भेटिने क्रम निकै कम भएपनि युरोप लगायतका विदेशी मुलुकमा फेरी बढी रहेको पाईएको तथा नेपालमै पनि पुर्ण रुपमा शुन्यमा नझरी सकेकोले अझै सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो ।
पहिलो र दोस्रो चरणको महामारीमा निकै राम्रो स्वास्थ्य व्यवस्थापन गर्नु भएका डा. थापाले अझै केही समय निकै सचेत रहनुपर्ने र सावधानी पनि अपनाउनु पर्ने बताउनु भएको छ । विशेष गरेर भिडभाडमा जाँदा वा आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा निकै सचेतना अपनाउनु पर्ने तथा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले आगामी केही महिना यसका लागि निकै महत्वपुर्ण हुने पनि बताउनुभयो ।
अहिले केही दिन यता आएर बाँकेमा स्वास्थ्य मापदण्डको पालनामा निकै बेवास्ता र लापरवाही गर्ने गरिएको पाईएको छ । निकै कम सर्वसाधारणले मात्र मास्क र सेनिटाइजरको नियमित प्रेयाग गरिरहेको देखिएको छ ।
अझै केही समयसम्म स्वास्थ्य मापदण्डको पालनाका लागि विभिन्न सरकारी र गेर सरकारी निकायले समाजमा सचेतना फैलाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
दुई दिनमा थप तीन जना संक्रमितको भेरी अस्पतालमा मृत्यु
संक्रमण घट्दै गएपनि एक दुई दिनको अन्तरालमा भेरी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु हुने क्रम भने रोकिएको छैन । गत दुई दिनमा भेरी अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत ३ जनाको शनिवार र आइतवार विहान फरक फरक समयमा मृत्यु भएको हो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार मंसिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षिय पुरुषको शनिवार राती ११ बजे मृत्यु भएको थियो भने मंसिर २५ गते अस्पताल भर्ना भएका गढवा ७ दाङकी ४९ वर्षिया अनुमती चौधरीको आइतवार बिहान ३ बजे मृत्य भएको थियो ।
यसअघि शनिवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ दाङका ३५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले यो संगै कोरोनाबाट संक्रमति भएर बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गराउन आएका मध्ये मृत्यु हुनेको संख्या ४३३ पुगेको र मृत्यु हुने बाँके जिल्लाका स्थानीय वासिन्दाको संख्या ३४१ पुगेको बताउनुभयो ।