समाचारदाता
नेपालगन्ज, कात्तिक २ । मानव बेचबिखन, घरेलु हिंसा, सामाजिक विभेद तथा हानिकारक परम्पराविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुभ सन्देश सभा नेटवर्क नेपालद्वारा आयोजित कार्यक्रममा सामाजिक समस्या न्यूनीकरण, नागरिक अधिकारको संरक्षण र सुरक्षित समाज निर्माणमा सामुदायिक सचेतनाको महत्त्वमाथि जोड दिइएको थियो ।

प्रशिक्षणका क्रममा मानव बेचबिखनलाई मानव अधिकार र सामाजिक सुरक्षासँग जोडिएको गम्भीर समस्याका रूपमा प्रस्तुत गर्दै यसबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा चर्चा गरिएको थियो । रोजगारी, वैदेशिक यात्रा तथा अन्य अवसरको प्रलोभन देखाएर गरिने शोषणबाट जोगिन आधिकारिक सूचना प्राप्त गर्ने, सम्बन्धित कागजातको वैधानिकता जाँच गर्ने र शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउने विषय महत्त्वपूर्ण मानिन्छन् । जोखिममा परेका व्यक्तिलाई दोषारोपण गर्नुको सट्टा उनीहरूको सुरक्षा, सम्मान र न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि पनि जोड दिइएको थियो ।

शुभ सन्देश सभा नेटवर्क नेपालले आयोजना गरेको सो अभिमुखीकरण कार्यक्रम सामाजिक विकृतिविरुद्ध नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको थियो । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायस्तरमा अधिकारसम्बन्धी जानकारी विस्तार गर्न र सरोकारवाला निकायबीच सहकार्य बढाउन सके मानव बेचबिखन, घरेलु हिंसा तथा विभेद न्यूनीकरणका प्रयासलाई प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वरिष्ठ समाजसेवी केबी बसेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने संस्थाकी पूर्वअध्यक्ष सुशिला बसेल, अध्यक्ष डा डक्टप्रसाद धिताल लगायतले प्रशिक्षण दिनुभएको कार्यक्रमको अध्यक्षता डा डक्टप्रसाद धितालले गर्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष चन्द्रप्रकाश चौधरी, कोषाध्यक्ष सुरेश गुरुङ, सदस्य रिता चौधरी लगायतको उपस्थिति रहेको थियो भने संस्थाका कार्यकारी प्रमुख तिलक बहादुर नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
