नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २६ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान निर्वाचन प्रणाली अतिनै खर्चिलो हुँदै गएकोले यसले भ्रष्टाचारलाई प्रोत्साहन दिईरहेकोले परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ ।
आइतवार नेपालगञ्जमा आयोजना गरिएको बृहत अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लाखौं करोड खर्च गरेर निर्वाचन जित्ने प्रणालीलेनै भ्रष्टाचारलाई आमन्त्रण गरिरहेको बताउनुभयो ।
जुनसुकै जनताले पनि सहज रुपमा निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा अहिले नेपाली जनताले सबैभन्दा बढी अधिकार पाएको उल्लेख गर्दै यो अधिकार मधेश आन्दोलनको देन भएको बताउनुभयो ।
हालसम्म देशमा भएका सबै आन्दोलनले सत्ता र शक्ति मात्रै परिवर्तन गरेको जनाउँदै पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले माओवादी जनयुद्ध र मधेश विद्रोहले शासन प्रणालीनै परिवर्तन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो–मधेश आन्दोलन नभएको भए देशमा न त संघियता हुन्थ्यो न त गणतन्त्रनै हुन्थ्यो, दिल्लीमा भएको १२ बुंदे सम्झौतामा समेत संघियता र गणतन्त्र कतै उल्लेख गरिएको थिएन ।
संघियताको सही परिणाम पाउनका लागि प्रदेशलाई बढी भन्दा बढी अधिकार सम्पन्न तथा साधान स्रोत सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै उहाँले संघियता विरोधीहरुले सो गर्न नदिईरहेको आरोप लगाउनुभयो ।
संघियताले खर्च बढ्यो भन्ने कुतर्क गरेर जनताका अधिकारलाई कुण्ठित गर्ने दुष्प्रयास भैरहेको जनाउँदै अध्यक्ष यादवले संघियता विरोधीलाई जनताका सामु नंग्याइने बताउनुभयो ।
प्रदेशलाई अधिकार सम्पन्न नबनाएर संविधान बनाएकोले सो समयमा आफुहरुबाट ठुलो चुक भएको पनि उहाँले स्विकानुभयो ।
जनताको सर्वोच्च संस्था संसदलाई दुई पटक भंग गरेर गणतन्त्र र संघियता समाप्त पार्ने षडयन्त्र असफल पार्न गठबन्धन गर्नु परेको उहाँको भनाई थियो ।
अध्यक्ष यादवले जबसम्म जसपाको अस्तित्व रहनेछ तबसम्म कसैले पनि संघियता र गणतन्त्रलाई समाप्त गर्न नसक्ने दावी गर्नुभयो ।
सो अवसरमा पुर्वमन्त्री तथा बाँके छेत्र नम्बर दुईका संघीय सांसद मोहम्मद ईश्तियाक राईले जसपालेनै विकास गर्न सक्छ भन्ने छाप बाँके जिल्लामा छोड्न आफुहरु सफल भएकोले आगामी निर्वाचनमा धेरै ठाउँमा विजयी हुने बताउनुभयो ।
उक्त अवसरमा जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव, जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राई, जिल्ला उपाध्यक्ष राजन रानामगर, सचिव राजेन्द्र विश्वकर्मा र रमा वैश्य लगायतले आगामी दिनमा जसपा झनै ठुलो शक्ति बनेर आउने बताएका थिए ।