नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २८ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि सीमापारी खुला रुपमा खरिद गर्न पाईने भएकोले लागु औषधको ओसार पसारमा कुनै पनि कमी आएको छैन । प्रहरी सक्रियताकै कारण दिनदिनै यहाँस्थित नमुनाहा नाका र अन्य ठाउँहरुबाट ठुलो परिमाणमा लागु औषध ब्राउनसुगर र अन्य ट्याबलेट र पेय पदार्थहरु नियन्त्रणमा लिने काम भैरहेको छ ।
प्रहरीले सक्रियता नदेखाएको भए धेरै बढी मात्रामा लागु औषध लुम्बिनी र कर्णाली प्रदेशका जिल्लाहरुमा पुग्ने थियो जसले गर्दा सयौं युवाको जिवन बर्बाद हुने थियो । तर, प्रहरीले देखाएको सक्रियता र तदारुकताकै कारण भारतबाट ल्याईएको धेरै लागु पदार्थ नाकामै वा नेपालगञ्ज बजारमा पुगेर प्रहरीको नियन्त्रणमा आउने गरेको छ ।
पछिल्लो पटक फेरी बाँकेका फरक फरक स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १५ स्थित सीमा नाका जमुनाहबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकोे छ भने नेपालगन्ज उपमहानगरपालिका वडा नं २० राँझाबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ ।
जमुनाहबाट पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका वडा नं ६ को २८ वर्षीय विष्णु पुर्जा पुन र धादिङको निलकण्ठ नगरपालिका वड नं १को २० वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
भारतबाट नेपालतर्फ ल्याउदै गरेको ९९० ट्याबलेट नाइर्टोजेपाम लागूऔषध उनीहरुको साथबाट फेला पारी पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यस्तै मंगलबार प्रहरीले नेपालगन्ज–२० राँझाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर वडा नं ८ खजुरा बस्ने ४२ वर्षीय विवेकशील मल्ल रहेका छन् । रांझास्थित सुरुची खाने तेलको काटुन हातमा समाती शंकास्पद रुपमा उभि रहेका अवस्थामा चेकजाँच गर्दा मल्लाको साथबाट कोरेक्स साढे चार लिटर र ट्रामाडोल एक हजार ट्याबलेट बरामद भएको एसपी अधिकारीले बताउनुभयो ।
लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दैनिकजसो लागु औषध ओसारपसार र सेवन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्दै आएपनि भित्रयाउने काम नरोकिनुबाट प्रहरी पनि आश्चार्यचकित बनेको छ ।