नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ३ । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरष्कार र अक्षय कोष स्थापना गरेकोछ । महासंघ बाँके शाखाका पूर्व सभापति समेत रहेका पत्रकार नीरज गौतमका बुवा स्वर्गीय सूर्यनाथ गौतमको नाममा स्वास्थ्य मुटु पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
स्वर्गीय सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा कोष स्थापना गर्दै नगद एक लाख महासंघ अध्यक्ष दामोदर भण्डारीलाई प्रदान गर्नुभयो। सूर्यनाथको मुटु रोगकै कारण निधन भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको श्रीमती एवम पत्रकार नीरजका आमा सुशीला गौतमले जानकारी दिनुभयो ।
उक्त पत्रकारिता पुरस्कार कोषको संरक्षकमा सूर्यनाथका छोरा नीरजलाई राखिएकोछ । कार्यक्रममा बोल्दै कोषका संरक्षक एव पत्रकारसमेत रहनु भएका नीरजले बुवाको स्मृतीमा समाजमा केही गर्न सक्छौं भन्दै यो प्रयास अघि सारिएको बताउनुभयो ।
अक्षय कोष स्थापना कार्यक्रममा बोल्दै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्राप्त अक्षय कोषको रकम मुद्वतीमा राखिने र यसबाट आउने ब्याजलाई पुरस्कारको रुपमा प्रदान गरिने बताउनुभयो । बाँकेमा क्रियाशिल पत्रकारहरुका हकहित र उनीहरुलाई प्रोत्साहन प्रदान गर्न महासंघ सधैं कटिबद्ध रहेको जनाउँदै उहाँले निकट भविष्यमा महासंघले ५ लाखको अक्षय कोष स्थापना गरि ५० हजार रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार प्रदान गर्नेबताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवंम बाँके शाखा पूर्व अध्यक्ष शुक्रऋषि चौलागाईले कोषको स्थापना हुनुले महासंघप्रतिको विश्वास बढाउने काम गरेको बताउनुभयो ।
अक्षय कोष शुभारम्भ कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका नवनिर्वाचित अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सिराज खान लगायतले कोष स्थापना गर्नु आफैमा उत्कृष्ठ कार्य भएको भन्दै पुरस्कार स्थापनासंगै वितरण कार्यलाई नियमित गरिनुपर्ने धारणा राख्नु भएको थियो ।