सिराज खान
नेपालगञ्ज, माघ ५ । पछिल्लो समयमा भारत र नेपालका करिब सबै ठाउँहरुमा एक्कासी कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । करिब तीन साता अघिसम्म बाँकेमा शुन्यमा झरेको संक्रमण दर अहिले आएर ७० प्रतिशतमा पुगेको छ ।
भेरी अस्पतालले आफ्नो सामाजिक सञ्जालको पेज मार्फत बुधवार दिएको जानकारी अनुसार सो अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ७० प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका अनुसार गत चौबिस घण्टामा भेरी अस्पतालको प्रयोगशालामा १०१ जनाको पिसीआर परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये अधिकांश बाँके जिल्लाका नागरिकहरु रहेका छन् । बुधवार २३ जना अस्पतालमा भर्ना भएको र ३ जना निको भएर घर फर्किएको पनि भेरी अस्पतालले जनाएको छ ।
भेरी अस्पतालले दिएको तथ्यांक निकै चिन्ताजनक रहेको छ । परीक्षण गराएका मध्ये ७० प्रतिशतमा संक्रमण देखिनुले जिल्लामा सयौंको संख्यामा संक्रमितहरु रहेको अनुमान गर्न सकिन्छ । किन भने कोरानाका सबै लक्षणहरु देखिएपनि परीक्षण गराउनेहरु निकै न्युन संख्यामा रहेका छन् । परीक्षण नगराएरै रुघाखोकीको उपचार गरिरहेका सयौं जना रहेका छन् । ती मध्ये अधिकांशलाई संक्रमण हुन सक्ने चिकित्सकहरुको आशंका छ ।
सोही कारणले मास्क, सेनिटाइजर र भौतिकदुरीको विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । भेरी अस्पतालका एकजना वरिष्ठ चिकित्सकले बजारमा जताजतै मास्क नलगाएका मानिसहरु हिडेको देखिंदा आश्चार्य लागेको बताएका छन् । उनले यति धेरै संख्यामा संक्रमित पुष्टि भैरहेपनि अधिकांश नागरिकले सचेतना र सावधानी नअपनाउनु गम्भीर अवस्थाको आगमनलाई निम्तो दिनु भएको बताए ।
नेपालगञ्जपाटी डटकमले पनि सम्पुर्ण सर्वसाधारणसंग घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनुका साथै सकेसम्म भौतिक दुरीको पनि खयाल राख्न आग्रह गर्दछ ।